काठमाडौं। सरकारले आजबाट ई-पासपोर्ट अर्थात् विद्युतिय राहदानी परीक्षणको थालनी गरेको छ। विभागले त्रिपुरेश्वर स्थित नयाँ भवनबाट आज पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरी ई-पासपोर्टको परीक्षण विरणको थालनी गरेको हो ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको सभा हलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी शताब्दी पुरुषलाई प्रदान गरेका हुन्। सरकारले सन् २०२२ को सुरुवातसँगै नेपालमा औपचारिक रुपमा ई-पासपोर्ट प्रचलनमा ल्याउन लागिएको विद्युतिय राहदानी तयारी स्वरुप परीक्षण वितरण सुरु गरिएको विभागले जनाएको छ। विभागले मंसिर १ (आज) बाट केही हप्ता विभागबाटै विद्युतिय राहदानी वितरण गर्नेछ भने कही समय पश्चात क्रमश प्रदेश र जिल्लाबाट वितरण गर्ने तयारी गरेको छ।

सरकारले हाल चल्तीमा रहेको मेसिन रिडेबल (एमआरपी) पासपोर्टलाई विस्थापन गरी सन् २०२२ को शुरुबाटै विद्युतीय पासपोर्ट लागू गर्ने तयारी गरेको छ। आईएसओ १९०३ मान्यता प्राप्त विश्वस्तरको तेस्रो पुस्ताको यो राहदानीलाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आईकाओ) ले सुरक्षित मान्यता दिएको छ। नयाँ राहदानी वितरण भए पनि पुरानो एम आरपी राहदानीको म्याद नसकिएकाको हकमा म्याद रहुञ्जेल त्यही राहदानीलाई मान्यता दिइने छ।

मन्त्रालयका अनुसार विद्युतीय राहदानी एक घन्टामा १ हजार थान उत्पादन गर्न सकिनेछ। विभागले गत वर्षको सेप्टेम्बरमा फ्रान्सेली कम्पनीसँग सम्झौता गरी विद्युतीय राहदानी उत्पादनको थालनी गरेको हो।