काठमाडौं। भारतसँगको एक्सचेन्ज बजार कारोबार अनुमति पाएसँगै नेपालले भारतलाई दुई सातामा ६ करोड बढीको बिजुली निर्यात गरेको छ। नेपालले कात्तिक १७ देखि ३० सम्म ३ करोड ७७ लाख २ हजार भारु अर्थात ६ करोड ३ लाख २३ हजार रुपैयाँको विद्युत् बेचेको हो।

देशभित्र आन्तरिक खपत हुन नसकेर खेर जाने विद्युत् मात्रै अहिले भारतको एक्सचेन्ज मार्केटमा निर्यात गरेको प्राधिकरणले जनाएको छ । तर, नेपालले भारतलाई बेचेको मूल्य प्राधिकरण आफैंले निजी क्षेत्रका आयोजनाबाट खरिद गरेको मुल्य भन्दा कम मुल्य पाएको छ । प्राधिकरणले निजी क्षेत्रसँग वर्षायामका लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ।

उता भारतलाई विद्युत् बेच्दा कात्तिक २३ मा सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा (३.७० भारु) मूल्य पाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सबैभन्दा कम कात्तिक १८ मा प्रतियुनिट औसत ३ रुपैयाँ १३ पैसा (१.९६ भारु) मा बिजुली बेचिएको छ । अहिले नेपालले भारतको एक्सचेन्ज मार्केटमा हरेक दिन ३९ मेगावाट अर्थात् ९३ हजार ६ सय युनिट विद्युत् बेचिरहेको छ । यसमा २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत भारत गईरहेको छ।

तथापी, खेर गएको विद्युत् बेचेकाले यसलाई घाटा खेपेर बेचेको भन्न नमिल्ने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईको भनाइ छ। ‘आन्तरिक खपत हुन नसकेर बचेको विद्युत् बेच्दा त्यसमा कम मूल्य भयो भनेर नकारात्मक हुन हुँदैन,’ उनले भने, ‘औद्योगिक ग्राहकलाई नै थप एक हजार मेगावाट चाहिएको छ। तर त्यसका लागि पर्याप्त संरचना हामीसँग छैन। त्यसकारण भारतलाई सस्तोमा विद्युत् बेचेको भनेर आलोचना गरेर मात्रै हुँदैन।’

(यो समाचार आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ।)