काठमाडौं । कृषि तथा पशु बीमा अन्तर्गत कफिखेतीको पनि बीमा हुने भएको छ। सोमबार बीमा समितिले ‘कफिखेती बीमालेख’ लागू गरेपछि कफि खेतीको बीमा गर्न सकिने भएको हो।

बीमा समितिले ‘बाली तथा पशुपंक्षी बीमा निर्देशिका–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको हो। बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कफि खेतिका लागि बीमालेख जारी भएको र कफि खेतिमा हुने अधिकांश जोखिमको कम हुने बताए। निर्जीवन बीमा कम्पनीहरूले यसै पोलिसीको आधारमा रहेर कफिखेतीको बीमा गर्न सक्ने समितिको भनाइ छ ।

कार्यकारी निर्देशक पौडेलका अनुसार बीमालेखले कफिखेतीमा आगलागी, हुरीबतास, आँधीबेहरी, तुफान, बाढी, डुबान, असिना, हिउँवा तुसारो, खडेरी चट्याङ, पहिरो, भूकम्प, प्राकृतिक प्रकोप, कीरा तथा रोगबाट हुने नोक्सानीको रक्षावरण गर्ने बताइएको छ । साथै, यस बीमालेखमा सम्बद्ध व्यवसायी तथा किसानको पनि अतिरिक्त रूपमा रू. २ लाख बराबरको दुर्घटना बीमा हुने व्यवस्था पनि गरिएको छ। तर, कफिखेतीमा अप्रत्यक्ष रूपमा हुने क्षति, अधिकारप्राप्त निकायबाट भएको क्षतिको बीमाले रक्षावरण गर्ने छैन। विकिरणयुक्त पदार्थ, आणविक, रासायनिक तथा जैविक हतियार, युद्ध वा युद्धसरहको अवस्थाबाट हुने नोक्सानीमा पनि बीमाको दायित्व नहुने बताइएको छ।

कफि खेतिको बीमा कफीको बोट संख्या, प्रतिबोटको मूल्य र उत्पादनको आधारमा समग्र खेतीको बीमांक रकम गणना गरिने छ । त्यसरी गणना गरिने बीमांकको ५ प्रतिशतका दरले बीमाशुल्क निर्धारण हुन्छ। यद्यपि, यसमा सरकारबाट दिइने अनुदान रकम कटौती गरेर बीमाशुल्क तिर्न सकिने छ । हाल सरकारले कृषिबीमामा ८० प्रतिशत अनुदान दिँदै आएको छ। त्यसअनुसार सम्बद्ध व्यवसायीले २० प्रतिशत बीमाशुल्क तिरे पुग्छ। यद्यपी व्यक्तिगत दुर्घटना बीमाका लागि थप रू. ५०० रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ।

कफिखेतीको कायम बीमांक रकम भने सम्बद्ध जिल्लाको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड तथा तोकिएको निकायबाट प्रमाणित गराउनुपर्ने बताइएको छ । यस्तै, यस्तो बीमा गर्न व्यवसायी तथा किसानले तोकिएको प्राविधिक मापदण्डमा रहेर कफिखेती गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। यदि, खेतीमा बीमायोग्य क्षति भएमा सम्बद्ध व्यवसायीले ३ दिनभित्र कुनै पनि माध्यमबाट सम्बद्ध कम्पनीमा सूचना दिनुपर्ने छ । त्यसपछि बल्ल दाबीप्रक्रिया अगाडि बढ्ने बताइएको छ।

बीमितबाट पूर्णरूपमा दाबी कागज परेपछि कम्पनीले ७ दिनभित्र नै क्षति मूल्यांकनकर्ता खटाउनुपर्छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर दाबी भुक्तानी गर्नुपर्ने बताइएको छ । मूल्यांकनकर्ताले मूल्यांकनको प्रतिवेदन बुझाएको ३५ दिनभित्र कम्पनीले दाबी भुक्तानी दिइसक्नुपर्ने बताइएको छ ।