ट्याक्सी बुट्टाबारी चियाबगान कटेर नयाँ बसपार्क छिर्यो । ‘पुरानो बसपार्क नजाने ?’ ‘जाँदिनँ दाइ ।’ ‘त्यसो भए यहीँ रोक ।’ उसले गाडी साइड गरेर रोक्यो । म चेपिँदै झर्दाझर्दै उसले मेरा सब्जीका पोकाहरु झारिदिएछ । भाडा लिएर ऊ गइहाल्यो ।
इलाम कुटीडाँडाबाट झरेको म बिर्तामोडको गर्मीमा बिलेको घिउझैँ भएँ । धन्न सिटी सफारी आयो त्यही बेला । ‘कहाँ जाने दाइ ?’ कसैले सोध्यो । नेपाल टेलिकमको छेउको सेतो घर । ‘कति भाडा लाग्छ ?’ ‘१०० दिनु भारी सँग ।’ ‘६० मा लैजाऊ मान्छेको ३०, भारीको ३० ।’ केही नबोली भारी हाल्यो । म बसेपछि दौडियो गाडी ।
मनमोहन हस्पिटल अघि बाटो क्रस गर्न निकै गाह्रो भयो । गाडीहरुको भिड, मान्छेको भिड । ड्राइभरले सुब्बाचोकको बाटो पछ्यायो । वेगले कुदायो । व्यथाले भेटेकी स्वास्नी हस्पिटल लाँदै छ कि जस्तो गरी । एक पलमा नेपाल टेलिकम अनि सेतो घर । दुई तले घरको गेटमा रोक्यो । सामान झा¥यो, पैसा भेटेपछि उसरी नै फर्कियो । मैले ब्याग भिरेँ । दुई पोका सब्जी झुन्ड्याउँदै गेटबाट सरासर छिरेँ ।
भुइँतलामा छोरीको रूमको झ्याल खुला थियो । केटाकेटी मिश्रित हाँसो बाहिर आयो । अनि थोरै सिगरेटको गन्ध पनि । १६ वर्षमा पहिलोपटक मेरी छोरीको हाँसो ठम्याउन सकिनँ । ऊ यस संसारसँग एक हुँदै थिई । दुनियाँसँग एकाकार हुँदै थिई । कता–कता लाग्यो, मैले छोरी गुमाउँदै छु ।
ढोकामा पुगेर दोधारमा परेँ । ढोका ढकढक्याऊँ कि बाहिर एकछिन बसूँ ? आँखैअघि डोरबेल रहेछ । थिचिहालेँ । भित्रको हाँसो थामियो । दुई पाइला कार्पेटमाथि स¥यो, स¥याकस¥याक । ढोका खोलियो, छोरी थिई ।
आत्तिई कि ! मलाई भेट्न आतुर थिई कि कुन्नि ! पापा भनेर कराई । ‘के गर्दै छ्यौ छोरी,’ मैले माहोल सहज बनाउने प्रयास गरेँ ।
सोफाभरि तीनजना केटी एउटा केटो बसेका रहेछन् । टेबलमा एस्ट्रे, निभेका दुईवटा चुरोटका ठुटा थिए । होम डेलिभरी गरिएको पिज्जाको खोल टेबलमै थियो । पाँचवटा स्प्राइटका बोतल थिए, सबैको आधा स्प्राइट बाँकी थियो ।
एउटा पोका बोकेर किचनमा छिरी, म अर्को पोका बोकेर छिरेँ । ब्याग बेडमा नै फाल्दिएँ । दही र घिउ भन्ने यादै भएन । ब्यागसँगै टाँसिएर बसेँ म । छोरी भित्तामा अडेस लिएर बसी । के भयो खोइ, सबैले एकसाथ ‘नमस्ते अङ्कल’ भने । मैले झन्डै नमस्ते फर्काउन पाइनँ ।
बाउ भएपछि सबै कुरा धेरै बढेर जाँदो रहेछ, चाहे त्यो मायाप्रेम होस् वा बढेका छोराछोरी बिग्रन्छन् कि भनेर आएका नानाभाँती सोचाइहरु नै । तर, छोराछोरी बढेपछि बाउ चाहिँ पाखे हुने रहेछ । कोठाको माहोलले बतायो । बुढोे हुँदै गएको दिमागले बन्दै पचाएन ।
मुस्कान साटासाट भयो । तर, मेरो उति खुलेको मुस्कान भएन । मनले मान्दै मानेन । केटो हेर्छु, कालो याङ्ले हाफ गन्जी लगाएको छ, लिखुरे हातभरि ट्याटु नै ट्याटु, सेतो पाइन्ट, टाइट न टाइट, घुँडादेखि फिलासम्म च्यातिएको, आँखाको डिलमा सानो कुण्डल छ, ओठमा नि कुण्डलै च्यापेको छ । घाँटीमा सिक्री । ओहो !
केटीहरु हेर्छु, उस्तै छन्, कुनैका केस स्ट्रेट, कसैका कर्ली, नेचुरल कलर कहीँ छैन । दुइटीको त नाभिमा समेत मुन्द्रा झुन्डिरहेको । कसैको जिब्रोमा छ । ड्रेस नि उस्तै, भित्री वस्त्र स्पष्ट कलरसहित देखिन्छ । जिराफका झँै सर्लक्क परेका तिघ्रा छन् । निमेषभर नियालेपछिको मेरो देखाइ हो । बाँकी दैव जानून् । ‘नाम के हो ? के गर्छौ ?’ सोधिदिन्छु ।
केटो झटपट बोल्छ । ‘उः सना, उः मेन्डी, उः जेनिलिया, म चाहिँ टोनी, सारा सँगै पढ्छौँ । घर यहीँ छ । आज केलज सकेर खाजा खान भेला भएको ।’
मेरी छोरी पछिबाट आई । अँगाली, कानमा फुसफुसाई– साथीहरुको छेउमा ढाकाटोपी फुकालिदिनु भनेर । माया गरेर मिठो छुरी धसेर गई । गाउँको अनुभवी भेजारीले सुँगुरलाई खोरमा मकै दिएर मुटुमा भाला रोपेर मर्न छोडिदिएझैँ भयो । कर्ली केस भएकी केटी बोली, ‘अङ्कल, तपार्इंले साह्रै माया गर्ने छोरी पाउनुभएको छ । तपार्इं साँच्चै लक्की हुनुहुन्छ ।’ बस, यही सुन्न र हुन बाँकी थियो ।
‘पापा, मुख घोएर आउनु, धेरै पसिना आयो ।’ बल्ल आफूलाई सम्हाल्ने मौका पाएजस्तो भयो । दुःख नि लाग्यो छोरी ठूली भई भनेर । यही पसिना घरमा आउँदा उसकी आमासँगै तौलिया बोकेर पुछिदिने फुच्ची आज वासरूमको बाटो देखाउँदै छे । उसका साथीहरु नि उठे । ‘अङ्कल, सारा, हामी जान्छौँ, बेलुका आउँछौँ, आज यतै बस्नुहुन्छ होला नि, बाई,’ भन्दै बाहिरिए ।
वासरूममा निकै बेर पानी खेलेँ । पोलेको मन २० को १९ भएन । संसारभरको सुख दिन चाहेँ । आज उसको स्ट्यान्डर्डमा म पुगिनँ । टोपी टिपेर गोजीमा हालेँ । चिन्डे तालु सुमसुम्याएँ । ठूलो खप्पर भएको मान्छे भाग्यमानी हुन्छ भन्थे, होइन रहेछ । चिन्ताले बाल झर्छ र तालु बन्छ, कसलाई थाहा ?
रूममा फर्किंदा छोरी बेडमै थिई । अघिसम्म दुनियाँका छोराछोरी पो नियालेछु । मेरी छोरी त झन् कुरुप रहिछ । लामो केस काटिछ । स्ट्रेट गरिछ, ओठ हल्का रातो छ । आँखा कालो छ गाजलले गर्दा । उसकी आमा भन्थी, ‘सुन न छोरो भयो भने ठीकै छ । छोरी जन्मिई र तिम्रा झैँ चिम्सा आँखा भए भने गाजल कहाँ लाउँछे ?’ म हाँसेर भन्थेँ, ‘छोरी, तिमी जस्तै हुन्छे । सबै मिलेको, राम्री क्षेत्रिनी । हुन पनि छोरी भई, आमा जस्तै । अनुहार जिउडाल फरक पर्दैन । तर, आज होइन भन्नु जस्तै छ ।
बोराको भन्दा ठूलो मुख भएको भेस्ट, कसरी एकातिर पाखुरीमा अल्झिएको छ । त्यो नि साबुनपानीको फिँजभन्दा बाक्लो छैन । बाहिरबाट लाएकी त्यो पानीफोके कात्रो घुँडासम्म पुगेर सकियो ।
‘अँ साँच्ची,’ भन्दै छेउमा आएर लाडिँदै बोली, ‘पेट लागेछ । यो ड्रेसले सुहाएन ।’ उसले ‘मैले चुरोट पिएको छैन’ भन्ने प्रुभ गरेकी होली । ‘जिन्स र टिसर्ट लाउनु । फेसक्याप लाउनु, घाम नि छेल्छ । शीतल हुन्छ,’ उसको लायक बनाउन कोसिस गरी, ‘बाइक किन्नु, कति दुःख पाउनुहुन्छ यसरी ?’
शीला र मेरी बार्बीडलले तीन महिनामा लामो छलाङ मारिसकेछन् । सबै कुरामा चोरऔँला र बुढीऔँला जोडी तीन औँला ठड्याउँदै सुन्दर, राम्रो सङ्केत दिन्थी । मन परेको कुरा बुढीऔँला ठड्याएर एस भन्थी । आज केही कुरामा पर्फेक्ट छैन ।
कुन्नि छोरीलाई के मुड चल्यो ? भेस्ट घुँडाबाट उठाएर देब्रे कमरमा गाँठो पारी । मुस्किलले चाक छोपिएको जिन्स हाफपाइन्ट रहेछ । सायद नाङ्गो छैन भनेर देखाएकी हो मलाई ।
शीला ! आज तिमीले यो हालत देख्दी हौ त, हार्ट अट्याक हुन्थ्यो होला । आमाबाउको जिम्मेवारी दिएर गइहाल्यौ । चिच्याएर मलाई लिन आऊ भन्न मन लाग्यो । कुन्नि कसको घरमा चिच्याएर के मान्छे भेला गर्नु ? चुप भएँ । एक मनले सोचेँ– अब घर फर्कन्छु ।
आँखा जुधाउँदै भनी, ‘पैसा अलि बढी दिनु है पापा । एक–दुई जोर लुगा किन्नु छ । साथीहरु जोमसोम घुम्न जाऔँ भन्दै छन् । गितार नि सिकिरहेछु ।’ बिजी छु भन्ने थुप्रै तथ्य पेस गरी, पैसा अभाव भए कुनै पनि काम पूरा हुन्न जस्तो गरेर ।
छोरी साराले बिर्सिहाली– उसको पापा पहाडको पाखोबारीमा गोरू जोतेर, घाँस–खोले गरेर जीविका चलाउँछ । दुःख गरेर कमाएको पैसाले छोरी पढाउँछ । अनि २०–२५ दिनपछि भेट्न आउँछ भन्ने कुरा । न उसको पापा सरकारी जागिरे हो न त विदेश गएर पैसा कमाएर फर्किएको छ ।
‘बजार हिँड छोरी,’ सबै कुरा बिर्संदै मैले बोलेँ । ऊ होमवर्क छ भनेर बसी । सायद म पर्फेक्ट छैन, बाउ भनेर चिनाउन । प्रुभ भो, अब मेरी छोरी मसँग हिँड्न सक्दिन ।
दुनियाँ जित्न बरू सजिलो होला । आफन्त र आना मान्छेको अघि जहिल्यै हारिँदो रहेछ । झन् त्यसमाथि छोराछोरीको अघि त कुरै नगरौँ ।
गोजीबाट हजारका नोट निकालेँ, १५ हजार उसका अघि तेस्र्याएँ । बिजुलीको सारमा तानी । केही औपचारिकता थिएन । न थ्याङ्क यु न त उसको मायालु अँगालो नै ।
ब्यागबाट दही र घिउको बट्टा उसका अघि सारिदिएँ । ब्याग बोकेँ, गोजीबाट टोपी झिकेर ऐना हेर्दै टाउकोमा घुसारेँ । पसिना–पसिना भएछु । ज्वरो आएको जस्तो । गर्मीले रातो–रातो भएको असुहाउँदो अनुहार फर्काइदियो ऐनाले ।
‘राम्ररी बस्नू, राम्ररी पढ्नू’ भन्दै म बाहिरिएँ । छोरी र गर्मीको ताप एउटै हाइटमा पुगेको थियो । म पाकिसकेको थिएँ । गल्दै थिएँ । किन हो कुन्नि, म हतारमा थिएँ ।
ड्राइभरले ‘दाइ कहाँ जाने’ भन्दा पो झसङ्ग भएँ । कुटीडाँडा, यति नै निस्कियो मुखबाट । ड्राइभरले ढोका खोलिदियो । झ्यालको सिटमा बसेँ । गाडी स्टार्ट गरेर हुँइकियो, स्पिडमिटरमा सुई ८५–९० मा हल्लिँदै थियो । घर फर्कने भएर होला, हावा चिसो आयो । म त्यसैमा बहकिएँ । पुनर्जीवन पाएझैँ भयो ।
मेरी बार्बीडल, मेरो काखमा आएर बसी, पाँच वर्षकी हुँदी हो । झरिसक्न लागेको तालुको केस फर्काउँदै कानमा साउती मारी– ‘आई लभ यु पापा ।’ अलि–अलि झरेको आँसु पुछिदिई । के मन लाग्यो, हलुकासँग गाला टोकिदिई । मुस्कुराई उसैगरी । उसलाई थाहै थिएन कि उसकी आमा यो दुनियाँमै छैन भनेर । उसको मामाको काखमा लम्पसार भएकी निर्जीव आमालाई ध्यानै दिइन । मसँगै भुलिई । सबै बुझेर मलाई हौसला राख्नु भनेझैँ लाग्थ्यो ।
पातलो कम्बलले छोपेको अनुहार उघारेर हेरी । छोपिदिई । मामाको अनुहार हेरी । सबैले आँसु रोक्न सकेनन् । तर, उसले मेरो आँसु पुछिदिई, ऊ भगवान् थिई, आमा थिई । उसको मामाले पनि त्यो अन्जान व्यवहार हेर्दै, आँसुसँगै मुस्कुराएझैँ गर्यो ।
उसले मलाई कहिल्यै छाडिनँ । स्कुल जाँदाबाहेक । कहिले प्रश्न गरिन, ‘आमा खोइ ?’ भनेर । उसले देखे–सम्झेजति आमाको कपी गर्थी । काम सघाउने प्रयास गर्थी । मैले कहिल्यै पढ भन्नैपरेन । ऊ पढाइमा अब्बल त बनिन, तर ६२÷६३ भन्दा कम नि ल्याइन । एसईई नि पास गरी यसरी नै । उसको बानीव्यवहार आमाझैँ लाग्थ्यो । सबैसँग बोल्थी । मेरो सुखदुःखकी साथी थिई सारा । गाउँलेहरु प्रशंसा गर्थे– संस्कार पाएको छोरी हो, हाम्रो गाउँको नाक उँचो गराउँछे । जे पढ्छे जे गर्छे, हामी सहयोग गर्छौं भन्थे छिमेकीहरु ।
पढ्न जाने रात, मसँगै रोई रातभर । आमालाई सम्झी । मलाई सम्झाई । आमाको फ्रेम गरेको फोटो झोलामा हाली । आमा सम्झेर पहिलोपल्ट रोई । साह्रै नरमाइलो लाग्यो । रूँदारूँदै मेरै काखमा निदाई ।
भोलिपल्ट कलेज गयौँ, बाउछोरी । ऊ अलि आत्तिएजस्ती थिई । फर्किएर आयौँ, सपिङ ग¥यौँ । यसरी नै तीन महिनाअघि छोडेर आएको मैले । आज ऊ पुतली बनिसकिछ ।
ड्राइभरले कुटीडाँडा भन्दै धाराछेउ गाडी रोक्यो । लुकिङ ग्लासमा अनुहार परेछ । नाकछेउसम्म आँसु झरेछ । अरुलाई हेर्दै बहाना बनाएँ, निदाएको चिसोले आँसु नै आएछ ।
जीवन दुखेर झरेको आँसु अरुलाई के सुनाउनु, होइन र ? हाँसोको पात्र के बनिरहनु ? १०० र ५० को नोट थमाएर बाहिरिएँ ।
चक्लेट–बिस्कुट नि किन्नु छैन । छोरी ठूली भई । दायाँ–बायाँ नहेरी घरतिर हुत्तिएँ । कुदेझैँ गरी घर पुगेँ । ताल्चा खोल्दा शीलाको फोटोले स्वागत गरिरहेछ । केही बोलिन, न केही भनी, मेरा हरेक काम हेर्दै रही, मलाई पर्खिरही ।
साँझको वेला कहीँबाट शीलाको फोटो निकालेँ, सोफामा बसेर छातीमा टासेँ । दिनभरिको तनाव, अन्तरकुन्तरमा भएको रिस सबै बिलाएर गयो ।
मेरी नानी, प्यारी छोरी
ऊ बच्ची हुँदा, सुसु गरिदिएको दौराको फेराहरु
गनाउँछ अझै, टाटाहरु राम्ररी गएको छैन
ऊ मलाई बच्ची लाग्छ ।
तर
समय साँच्चै कति छिटो बित्छ नि ? ऊ ठूली भई
उसको मनले पर्फेक्ट ड्याडीको कल्पना गर्दो हो ।
बुबा फेर्न मिल्छ कि नाइँ ?
खोइ ?
लोग्ने मात्र फेरेको देख्छु म त ।