इलाम । स्थानीय पर्यटकीय स्थल प्रर्वद्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यले रोङ गाउँपलिकाको अध्यक्ष शमशेर राईले सूर्योदयको मनोरम दृश्यवालोकन गर्न सकिने गुगल पोइन्ट (भू-मापन डाँडा)को अवलोकन भ्रमण गर्नुभएको छ । मेची राजमार्गमा पर्ने हाँसपोखरीबाट करिब ३० मिनेट पैदल हिँडेपछि यो मनोरम ठाउँमा पुग्न सकिन्छ ।

नेपाल सरकार, नापी विभागको भू-मापन विन्दु रहेको उक्त डाँडालाई पर्यटकीय स्थालको रुपमा विकास गर्न स्थानीय सरकारसहित स्थानीयहरुले गुगल पोइन्ट नामाकरण गरी प्रचार प्रसार गर्दै आएका छन् । गुगोल पोइन्टबाट सूर्योदयको साथै कञ्चनजंघा हिमाल, अन्तुडाँडा, भारतका अधिकांश भू-भाग, तराईका समथर भू-भाग, मेची नदीलगायत नेपालका धेरै भू-भाग अवलोकन गर्न सकिन्छ । यसका साथै यहाँबाट विश्वकै अग्लो हिमाल सगरमाथा र कुम्भकर्ण हिमालकोसमेत दृश्य देख्न सकिने रोङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मात्रिका बरालले बताए ।

इलामको प्रख्यात पर्यटकीय स्थल कन्याम र पाथिभरासँगै रहेको गुगल पोइन्ट पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान रहेको छ । कन्याम र पाथिभराको भ्रमणमा आउने जो कोहिले पनि सँगै रहेको गुगल पोइन्ट पुग्न सक्ने भएको हुँदा एउटै खर्चमा थप मनोरञ्जन लिन सकिन्छ ।

गुगल पोइन्टलाई पनि पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने अनुगमन टोली मै रहुन भएको पाथिभरा क्षेत्र विकास कोषको अध्यक्ष दौलथ कुमार राईले बताउनुका साथै पाथिभरा गिद्देभीरदेखि झण्डी धजे डाँडासम्मको पदमार्ग निर्माण कार्य सम्पन्न हुन सके भू-मापन डाँडा पनि समेटिने बताए ।

समुन्द्री सतहबाट करिब २००० मिटर उचाइमा रहेको गुगल पोइन्टको विकासका लागि विशेष योजनाको साथ गाउँपालिका जुट्ने पालिका अध्यक्ष राईले बताउनुभयो ।