काठमाडौं । मासु व्यवसायीहरुले दसैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।

सरकार र व्यवसायीहरुबीचको आपसी सहमतिमा एक वर्षका लागि विभिन्न प्रकारका मासुको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको हो । वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गत वर्षकैलाई याथवत राख्ने सहमति भएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ । सो मूल्य अबको एक वर्षका लागि मान्य हुने संघका अध्यक्ष रमेश खड्गीले बताए । तोकिएको नयाँ मूल्य अनुसार खसीको मासुको मूल्यलाई तीन भागमा छुट्याएर मूल्य तोकिएको छ ।

आन्द्रा र भुँडी मिसिएको खसीको प्रतिकिलो मूल्य एक हजार रुपैयाँ तोकिएको छ । आन्द्रा, भुँडी र बोसो नमिसिएको तर बिक्रेताले छानेर दिने मासुको प्रतिकिलो मू्ल्य १२ सय रुपैयाँ बनाइएको छ । यस्तै उपभोक्ताले छानेर खरिद गर्ने खसीको मासुको मूल्य किलोमा १३ सय रुपैयाँ तोकिएको अध्यक्ष खड्गीले बताए ।

यस्तै ब्रोइलर कुखुराको मासुको मूल्य तीन सय रुपैयाँ किलो कायम गरिएको छ । कुखुराको तयारी मासुको मूल्यमा किलोमा ५ देखि १० रुपैयाँ भने तलमाथि हुनसक्ने संघले जनाएको छ । यस्तै उपभोक्ताले छानेर खरिद गर्न सक्ने राँगा र बंगुरको मासुको प्रतिकिलो मूल्य पनि ५ सय रुपैयाँ किलो कायम गरिएको छ ।

माछाको मूल्य भने उच्च उतार चढाब हुने भएकाले यकिनसंग तोक्न नसकिएको संघले जनाएको छ । बजारमा अत्यधिक मात्रामा रुचाईने रहु माछाको मूल्य किलोमा ३५० देखि ४ सय हाराहारी पर्ने संघको अनुमान छ ।