तिमी जन्मिएको त्यो पल फुरुङ्ग भा थियो मन छोरी,

तिम्रो जन्म कोपिलासरी भयो, तिमी फूलसरी बढ्यौ छोरी

 

तिम्रो मुहार हेरर रमाउन चाहन्छु छोरी ।

सारा खुसी तिम्रै हातमा थमाउन चाहन्छु छोरी ।

तिमी बढ्दा मेरा मनहरु हरदम बहकिन्छ,

र हरपल तिमीमा नै समर्पित रहन्छ छोरी ।

 

किनकि अचेल न बालक भन्छ त

न युवती नै भन्छ त्यो नरपिसाचले छोरी

तिमीलाई स्कुल पठाउँदा नि मेरो मन हरपल कामिरहन्छ छोरी

तिमी फर्केर नआउन्जेल मेरा आँखाले तिम्रै बाटो हेरिरहन्छ छोरी।

 

प्रत्येक पटक तिमी आफ्नो ख्याल राख्नू है छोरी

बस्दा नि तिमी सम्हालिएर बस्नु है छोरी ।

चकलेट दिएर फकाउलान्, लुगा किनिदिन्छु भनेर

बोक्न खोज्लान् तर तिमी नफकिनू है छोरी ।

 

गिद्धले मुर्दा लुछेझैँ निर्दोष बालिका लुछिन्छन् छोरी

आफ्नो खुनबाट नै अबोध बालिका लुटिन्छन् छोरी

कसैले छुन खोजेमा त्यो हात, तानेमा गाला

तिमी प्रतिकार गर्न सिक्नु है छोरी

आफ्नो ख्याल आफैँ गर्न सिक्नु है छोरी ।

 

गाडी अनि मान्छेको भिडभाडमा यदि तिमीलाई असजिलो भयो भने

नडराई निर्धक्क भएर बोल है छोरी साँझबिहान एक्लै एक्लै नहिँड है छोरी

अर्मयादित तरिकाले कसैले हेर्छ भने आफैँ प्रतिकार गर्न सिक है छोरी ।

 

तिमी मात्र हैन यहाँ सुुरक्षित त म पनि छैन,

छोरी भनेर डराउने चाहि हैन प्रतिकार र तिरस्कारमा हामी त अब लाग्नैपर्छ छोरी ।

जसरी भए नि तिमी अब बोल्न जान्नै पर्छ, आफ्ना र पराई चिन्नै पर्छ छोरी ।

 

लेखक: अनुपा कोईराला