फाइल तस्बिर ।

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको कब्रिस्तान सञ्चालक समितिले कब्रिस्तानभित्र भवन निर्माण गर्न खोजेपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् ।

कब्रिस्तान सञ्चालक समितिले कब्रिस्तानको जग्गामा व्यवसायिक प्रयोजनका लागि सटरहरु निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका हुन् । स्थानीयहरुको विरोध पछि सटर निर्माणको काम रोकिएको छ ।

जामा मस्जिदका महासचिव मोहम्मद इरफान सिद्दिकीले कब्रिस्तानलाई जग्गाकै अभाव भइरहको हुँदा सटर निर्माण गर्नु गलत भएको बताए । ‘यहाँ सटरको आवश्यकता नै छैन् उनले भने–‘भएका सटरहरुलाई नै सञ्चालक समितिले व्यवस्थित गर्न सकेको छैन् किन सटर चाहियो ।’ उनले कब्रिस्तान सञ्चालक समितिले सटरबापतको भाडाको रकमसमेत पारदर्शी तरिकाले खर्च नगरेको बताए । ‘सटर भाडाबाट आउने रकम कहाँ जान्छ उनले भने–‘अब हामीलाई यसको हिसाब किताब चाहिन्छ ।’ लगभग कब्रिस्तानका ६२ वटा सटर छन् । एउटा सटर १२ सय देखि १५ सयरुपैयाँमा भाडामा दिइएको छ । योबाट लगभग मासिक एक लाख आम्दानी हुने गरेको छ । नेपाल हज समितिका सदस्य मेराज अहमद हिमालयले समितिले मनोमानी गर्ने गरेका कारण स्थानीय बाध्य भएर बिरोधमा उत्रिएको बताए ।

‘६-७ बर्षदेखि समितिले सटर भाडाको रकम सार्वजनिक गरेको छैन । उनले भने– सटर भाडाबाट आउने रकम कहाँ जान्छ स्पष्टसँग भन्नु पर्यो ।’ समितिकै केही व्यक्तिहरुले वर्षौदेखि सटरभाडा नदिएको गुनासो आएको पनि उहाँको भनाइ छ । उनले उनीहरुबाट किन भाडा उठाइएन् भनेर समेत प्रश्न गर्नुभयो । सटर भाडाबाट आउने रकमबाटै कव्रिस्तान व्यवस्थित भइहाल्ने भएकाले थप सटर बनाउन आवश्यक नरहेको उनको भनाइ छ ।

कब्रिस्तानभित्र नयाँ भवन बन्न नदिने मुस्लिमहरुको चेतावनी 

स्थानीय अनिस शाहले पनि कवर खनेर सटर बनाउन थालिएपछि आफुहरु बिरोधमा उत्रिएको बताउनुभयो । कव्रिस्तानका लागि जग्गाकै अभाव भइरहेका बेला त्यसलाई मास्न खोज्ने प्रवृत्ति ठीक नभएको उनको भनाइ छ । स्थानियका अनुसार कव्रिस्तानको करिब २६ कट्ठा जग्गा छ । त्यही जग्गाको पूर्वतिर बंगाला रोडमा पक्की सटर निर्माण थालिएको थियो ।

एकलैनी, फुल्टेक्रा, घरवारी टोल, रामनगर लगायत आसपास टोलका मुस्लिम मृत्यु भए त्यही अन्तिम संस्कार गर्ने गर्छन् । कब्रिस्तानलाई राम्रो र सुन्दर बनाउनलाई व्यापारी नेता र संघसंस्था लगायतले ठूलो रकम चन्दा दिने गर्छन । तर अहिलेसम्म कुनै हिसाब किताब नै नभएको स्थानीयको गुनासो छ । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य याकुव अन्सारी नेतृत्वको समितिले आफूखुसी निर्णयहरु गर्ने गरेका कारण स्थानीय बिरोधमा उत्रिएका हुन् । याकुब कै नेतृत्वमा सटरका लागि भवन बनाउनेको देखेपछि मुस्लिमहरु प्रतिकारमा उत्रेका थिए । मुस्लिमहरुको आक्रोश देखेर याकबु कब्रिस्तानबाट भागेको एक स्थानीयले बताए ।

संघीय सांसद मोहम्मद इस्तियाक राइले संसदीय कोषको ३९ लाख सहयोग गर्नुभएको छ । उहाँले दुई आर्थिक वर्षमा २५ र १४ लाख गरी ३९ लाख कब्रिस्तानमा खर्च भएको समाजवादी पार्टी बाँकेका अध्यक्ष कमररुद्धिन राइले बताउनुभयो । उक्त रकमबाट टिनको छाना, हात मुख खुट्टा धुने अर्थात वजु बनाउने पानीको टंकी, नमाज पढ्नका लागि जमिनमा टयाल लगाउनुका साथै, पंखा र मस्जिदमा दुई वटा एसि जडान गरिएको थियो ।

त्यस्तै शहरी विकास अन्तर्गत एक वटा हाइमास्ट लाइटसमेत लगाइएको छ । त्यस्तै वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले नेपालगन्ज उपमहानगरपालिका र वडाको १० लाख बजेटले कब्रिस्तानको नयाँ जग्गामा माटो पटान गरिएको बताउनुभयो ।

उनका अनुसार ८०-२० को बजेटबाट उपमहानगरपालिकाले कब्रस्तानको बाटो निर्माणको क्रममा खर्च गरेको थियो । लाइटका लागि स्टिल पाइप वेहना आफैले सहयोग गर्नुभएको थियो । लाइटको लागि अध्यक्ष वेहनाले व्यक्तिगत सहयोग गर्नु भएको थियो । सटरलाई यसरी व्यवस्थित गराउने काम भइरहेका बेला कव्रिस्तान सञ्चालक समितिले मनोमानी तरिकाले काम गर्न खोज्नु दुर्भाग्यपूर्ण रहेको संघीय सांसद मोहम्मद इस्त्यिाक राइले बताउनुभयो । कब्रिस्तानलाई अतिक्रमण गरेर सटर बनाउनु गलत काम भएको उनको भनाइ छ ।

सञ्चालक समितिका अध्यक्ष अन्सारीले भने सटरबाट उठेको रकम कब्रिस्तानमै खर्च गरिएको दावी गरेका छन् । उनले सटर भाडाबाटै कव्रिस्तानको पर्खाल निर्माण गरिएको बताए । यस्तै कव्रिस्तानका उपाध्यक्ष शकिल अहमद जसगढले कव्रिस्तानको जग्गा खरिद तथा विस्तारका लागि समिति निर्माण भएको बताए । उनका अनुसार, कव्रिस्तानमा जग्गा अभाव भएपछि केही कट्ठा जग्गा खरिद गरिएको थियो ।

जग्गा खरिद गर्नका लागि रकम सबैबाट संकलन भएको थियो । उहाँले कव्रिस्तानमा सटर निर्माणको विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । उनका अनुसार यहि साता भित्र सबै हिसाब किताब जनता माझ राख्ने समितीले निर्णय गरेको बताए । मुस्लिम समुदायका धर्मगुरूहरूले कवरमाथि भवन निर्माण गर्नु महापाप हुने बताएका छन् । उनीहरुले कब्र (चिहान) खनेर त्यसमाथि कुनैपनि किसिमको भवन निर्माण गर्न नमिल्ने बताउँछन् ।

यस्तै कब्रिस्तानको विवादसँगै दारुल उलुम फैजुन्नबी जामा‌ मस्जिद, इद गाह र गेसिया मस्जिदको सम्पुर्ण रकम सार्वजनिक गर्न माग स्थानीयहरुले माग गरेका छन् । मस्जिद,इदगाह,मदरसा र कब्रिस्तानको नाम बेचेर राजनीति गर्दै आएका व्यक्तिहरुलाई मुस्लिमहरुले सामाजिक सञ्जालमार्फत सचेत गराउन सुरु गरेका छन् ।

कब्रिस्तानभित्र भवन बनाउन खोजेको भन्दै याकुब अन्सारी लगायतका विषयमा खुलेर नै विरोध गरिएकोछ । यता याकुब र कब्रिस्तानको समितिमा रहेकाहरुको संरक्षणका लागि केहि व्यक्तिहरु फेसबुकमा सक्रिय देखिए पनि मुस्लिमहरुले कडा प्रतिकार गरिरहेका छन् ।

मुस्लिम धर्म गुरु मुफ्ति सबिहुल हसन मिस्वाहिले मानवीय संवेदनासँग जोडिएको समाधिस्थलमा नयाँ संरचना बनाउने र चिहान नष्ट गर्ने घट्ना घटेकोप्रति दुःख व्यक्त गरे ।