काठमाण्डौं । अमेरिकाले अफगान केन्द्रीय बैंकको करिब ९ दशमलव ५ बिलियन अर्थात ११ खर्ब २८ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकमको सम्पत्ति ’फ्रिज’ गरेको छ । 

तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अमेरिकाले बैंकमा रहेको रकम ’फ्रिज’ गर्नुका साथै मुद्रा शिपमेन्ट पनि रोक्ने निर्णय गरेको हो । रकम रोक्का गरेसँगै अब तालिवानले त्यसको प्रयोग गर्न पाउने छैनन् । अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकामा रहेको केन्द्री बैंकको सम्पत्ति र रकम तालिवनका लागि उपलब्ध हुनेछैन । ११ खर्ब २८ अर्बभन्दा बढी मूल्यको सम्पत्ति अमेरिकाको ट्रेजरी डिपार्टमेन्टको ’स्यान्कसन लिस्ट’मा रहेको छ । यसअघि केन्द्रीय बैंकका गभर्नर अजमल अहमदीले अफगानी मुद्राको मूल्य हालसम्मकै कम पुगेको र डलरको शिपमेन्ट बन्द भएको उल्लेख गरेका थिए । अहमदीले आइतवारनै काबुल छाडेका थिए ।

फ्रिज’ गरिएको अफगानी केन्द्रीय बैंकको रकम न्यूयोर्क फेडरल रिजर्भ र अमेरिकास्थित अन्य वित्तीय संस्थामा राखिएको छ । अफगानी केन्द्रीय बैंकको अधिकांश सम्पत्ति अफगानिस्तान बाहिर रहेको बताइएको छ ।००००