“एण्ड (अलविट) इट डज मुभ”
“र यो यद्यपि घुमिरहेछ” 
दबाबपूर्ण कायलनामापश्चात्
ग्यालिलिओ ग्यालिलीको सुक्ष्म कुण्ठाप्रेरित शब्द प्रष्फुटन 
पृथ्वी गतिवान छ र सूर्यको परिक्रमा गर्छभन्दा
उनलाई बाइबल बिरोधी आरोपमा
आजीवन काराबासको सजाय सुनाइयो
र ...
पृथ्वी स्थीर भएको कायलनामा गराइयो । 

यस्ता धर्म बिरोधी अपवादबाट 
न डार्विन पृथक रहे न आइनस्टाइन नै बचे
प्रयोगबादी न्युटन र फेरललाई
कल्पनाबादी अरस्तुको बिरोधी भनियो
सामाजिक विचलनको आरोप लगाइयो
सोरौं सताब्दिताका हुदोहो त यस्तै आरोपमा
असक्त स्टेफन हकिन्स पनि कारागार पर्नुपर्ने हुन्थ्यो ।

धार्मिक विवादमा विवादित आइन्स्टाइन,
ईश्वर शब्द मानव कमजोरीको उपज भन्छन् 
यहुदी भएरै जुडाइजम तनखलाई 
अन्धविस्वासको सूचक मान्छन् 
तर यता भने,
समयको परिवर्तनसँगै आजकल 
धार्मिक ग्रन्थमा वैज्ञानिकतर्क हालिन थालिएको छ 
धर्मलाई सनातन र प्राचीन विज्ञान भएको प्रमाणित गर्न
E=mc2 सुत्रलाई ॐ भित्र गालिन थालिएको छ
ए धर्मान्ध मित्रहरु
काल्पनिक ईश्वरको कथानक दन्तेकथाले भरपुर 
धर्म केवल कल्पनामा आधारित आडम्बर हो
खोक्रो आडम्बरले यथार्थ पुरिँदैन
यथार्थ स्वीकार्दा सानो होइँदैन ।

म, तिमी जस्तै आस्तिक छुइनँ
नास्तिक भनौला, यद्यपि म नास्तिक पनि हैन
मेरो लागि प्रकृति नै ईश्वर पुर्खा गुरु
यथार्थ प्रत्यक्ष हामी सामु नै छ
र त म विस्वस्त छु ...
दत्तचित्तले यिनकै स–सम्मान पुजा–आरधना गर्छु
यो संसार काल्पनिक ब्रह्माको सृष्टि नभै
ब्रह्माण्ड स्वयम स्वचालित स्वयंभू स्रष्ठा हो
तत्व शक्तिको गति प्रगति नै सृष्टि हो 
यथार्थको कसि प्रमाण हो कल्पना हैन
प्रकृतिभन्दा पर कुनै अर्को ईश्वर छँदैछैन ।