सिन्धुलीमाढी। सेवाग्राही अप्सरा कार्कीले थाइराइडको औषधी निशुल्क पाउन नसकेको र अनिल खड्काले ज्वरोको औषधी सिटामोल पाउन नसकेको गुनासो सहितको समाचार सान्तिबोट डटकमले साउन ३१ गते समाचार प्रकाशन गरेकोप्रति जिल्ला अस्पताल सिन्धुलीले ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालले सोमबार ध्यानाकर्षण पत्र जारी गरेको हो।

अस्पतालले ध्यानाकर्षण पत्र जारी गर्दै राष्ट्रिय स्वास्थ्य नीति २०७१ अनुसार नागरिकहरूलाई विभिन्न ७० प्रकारको औषधीहरू नि:शुल्क वितरण गर्ने व्यवस्था अनुसारका औषधीहरू अस्पतालमा मौज्दात रहेको र सबै सेवाग्राहीहरूलाई सोही बमोजिम उपलब्ध गराएको जनाएको छ।

ध्यानाकर्षण पत्रमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको ५० शैयाको सिन्धुली अस्पताल जनताको सेवाप्रति प्रतिवद्ध रहेको जनाएको छ। समाचारमा प्रकाशित भए जस्तो औषधी अभाव नरहेको जनाउँदै अस्पतालमा थाइराइडको विरामीले खाने लेभोथाइरोक्सिन २५ एमजी र ५० एमजीका औषधीहरू ६ महिनालाई पुग्ने मौज्दात रहेको र ज्वरो आउँदा खाने सिटामोल १ वर्षलाई पुग्ने मौज्दात रहेको जनाएको हो। 

त्यस्तै, ध्यानाकर्षण पत्रमा अस्पतालसँग सम्बन्धित यस किसिमको समाचारले अस्पतालमा कार्यरत कर्मचारीको कार्यसम्पादनमा प्रभावित पर्ने साथै सेवाग्राही र सेवाप्रदायकबीचको सम्बन्धमा खलल पुग्ने हुँदा समाचार प्रकाशन र सम्प्रेषण गर्दा वस्तुनिष्ठ भएर गर्न आम पत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई ध्यानाकर्षण गराएको छ।

ध्यानाकर्षण पत्र: