इलाम। इलाम स्थित सूर्योदय नगरपालिकाले कोभिड-१९ विरुद्धको भेरोसेल खोप आजबाट लगाउन सुरु गरेको छ। खोप अभियानको पहिलो दिन २ हजार ३४८ जनाले खोप लगाएका नगरपालिकाले जनाएको छ। नगरपालिकाले आइतबार ५५ वर्ष भन्दा माथि उमेर समूहका सर्वसाधारण र शिक्षकहरुका लागि खोप अभियान सञ्चालन गरेको हो।

नगर प्रमुख रण बहादुर राईका अनुसार गाउँपालिकाले ५५ वर्ष माथिका सर्वसाधारणहरू र विद्यालयमा अध्यापन गराउने शिक्षकहरूमा खोप दिन लागिएको हो। प्रमुख राईका अनुसार खोप कार्यक्रम भोली सोमबार साउन १८ गतेसम्म चल्नेछ। 

खोप कार्यक्रमको पहिलो दिन आज सूर्योदय नगरपालिकाको आठ वटा खोप केन्द्रहरूबाट २ हजार ३४८ जनाले खोप लगाएका छन्। जसमा फिक्कल स्वास्थ्य चौकी खोप केन्द्रबाट ४ सय ४० जना, पशुपति स्वास्थ्य चौकी खोप केन्द्रबाट ३ सय ५३ जना, गोर्खे स्वास्थ्य चौकी खोप केन्द्रबाट ३ सय ५ जना, अन्तु स्वास्थ्य चौकी खोप केन्द्रबाट २ सय ९२ जना, समाबुङ स्वास्थ्य चौकी खोप केन्द्रबाट ९६ जना, कन्याम स्वास्थ्य चौकी खोप केन्द्रबाट २ सय १४ जना, पन्चकन्या स्वास्थ्य चौकी खोप केन्द्रबाट ४ सय जना र लक्ष्मीपुर स्वास्थ्य चौकी खोप केन्द्रबाट २ सय ४८ जनाले खोप लगाएका छन् । सबै खोप केन्द्रबाट कूल २ हजार ३४८ जनाले खोप लगाएका हुन्।