श्री संयोजक रबिन्द्र मिश्र ज्यू,
विवेकशील साझा पार्टी

विषय: खुल्ला पत्र

संघीयता, गणतन्त्र खारेज गरौँ धर्म निरपेक्षता जनमत सङ्ग्रहमा जाऔँ भन्ने राजनीतिक दस्तावेज अगाडि सार्नु संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो अपमान भएको छ भने सामाजिक सञ्जालमा तपाईंप्रति संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरूले निकै आक्रोश र बिरोध गरिरहेका छन् । यस सन्दर्भमा तपाईंको राजनीतिक दस्तावेजले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर करोडौं जनताको मर्म भावना र सहिदको रगत माथि चोट तथा आघात पुग्ने काम भएको छ । यस आपत्तिजनक राजनीतिक दस्तावेजप्रति सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको तर्फबाट खेद व्यक्त गर्दै गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।

तपाईंको दस्तावेजमा भनिएको छ, ‘गोरखा जानुपर्ने मान्छे, गोरखपुरतिर हिँडेर कहिले गोरखा पुगिँदैन। लोकतान्त्रिक अधिकारको कुरा हो, कसैलाई गोरखपुर नै प्यारो लाग्छ भने गए हुन्छ। तर गोरखपुर त्यस्तो गन्तव्य हो जहाँ पुगिसकेपछि  मार्ग परिवर्तन गर्ने कुनै सम्भावना रहँदैन ।’  तपाईंको दस्तावेजले पनि कहिँ पुग्ने देखिदैन । गुमाई फिराई उहि पुरातनवादी, एकल जातिवादी, एकल धर्मवादी, एकल संस्कृतिवादीको पक्षपोशक हो भन्ने कुरा इङ्गित गरेको छ । यस सन्दर्भमा तपाईंले नेतृत्व गरेको पार्टी र राप्रपा नेपालमा के फरक छ ? तपाईं अग्रगामी कि प्रतिगामी ? तपाईंको मानसिकता चाहि संकीर्ण, पुरातनवादी अनि पार्टी चाहि नयाँ वैकल्पिक ? के नाम मात्र विवेकशील साझा भएर हुन्छ ? बरु राप्रपासङ्गै सति जानुस् । 

तत्कालीन प्रधानमन्त्री ओली ज्यूले पनि आफू शासन सत्ता रहदा सत्ताको दुरुपयोग गरेर कानुनी व्यवस्था विपरीत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई पटकपटक घाटी निचोर्नु भएकै हो । खोइ उहाँको प्रतिगामी कदम कहाँ सफल भए त ? आखिर सम्मानित सर्बोच्च अदालतले संविधानको रक्षा गरेर जनतालाई न्याय दिलाउदै प्रतिगमन खेल असफल भैसकेको कुरा सर्वविदितै छ । 

अन्यथा नमान्नु होला तपाईं जतिको पूर्व बौद्धिक पत्रकार र हाल नयाँ पुस्ताको नेतृत्वलाई स्मरण रहोस् !...

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता अग्रगामी  युगान्तकारी, लोकतान्त्रिक उपलब्धिहरू कसैको दया, मायाले दिएको उपहार, दाइजो, सानो प्रयत्न र चानचुने  बलिदानले प्राप्त उपलब्धि होइन भन्ने कुरा हेक्का रहनु पर्ने हो । यद्यपि एकल जातीय , एकल धार्मिक , एकल भेष , एकल सांस्कृतिक मान्यता सहितको एकात्मक केन्द्रीकृत, विभेदकारी राज्य व्यवस्थाको विकल्पको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्षता राज्य व्यवस्था नेपालका सम्पूर्ण उत्पीडित समुदाय एवम् गरिब, निमुखा, किसान, श्रमजीवी(मजदुर) न्यायप्रेमी जनताको साझा माग हो । जुन व्यवस्थाले सदियौ देखि राजनीतिक , आर्थिक , सामाजिक, धार्मिक, जातिय , सांस्कृतिक एवम् सर्वपक्षीय हिसाबले दमन शोषण, आन्याय, अत्याचार खेपिरहेका, पछाडि पारिएका उत्पीडित समुदाय एवम् श्रमजीवी वर्गको मुक्तिको खातिर करिब ६ दशक लामो जनसंघर्ष, १० वर्षे जनयुद्ध, मधेस बिद्रोह, २०६२/६३ सालको १९ दिने ऐतिहासिक जनआन्दोलन, उत्पीडित श्रमजीवी मजदुर वर्ग, उत्पीडित आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित(सिल्पी), खस/आर्य  महिला, युवा, विद्यार्थी लगायतले गरेका असीम त्याग, बलिदान, संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धि हो भन्ने कुरा हेक्का रहोस् । 

जहाँ हजारौं सहिदहरूको रगतले सिञ्चिएको छ । कयौँ महिलाहरूको सिन्दुर खोसिएको छ । कयौँ किसान, श्रमजीवी(मजदुर), विपन्न , गरिब, पिछडा वर्गका जनताहरू आन्दोलनको क्रममा घाइते अपाङ्ग, असहाय भएका छन् । जसको फलस्वरूप  गणतन्त्र ,संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लोकतन्त्र जस्ता युगान्तकारी उपलब्धिहरू प्राप्त भएका छन् । यी अग्रगामी उपलब्धिहरूलाई आम जनताको घर दैलोसम्म पुर्‍याउन अझै नसकिएको होकि भन्ने महसुस सबै नेता , सबै दल र राज्यसत्ता, सरकार सञ्चालक तथा शासक वर्गमा हुनुपर्दछ । गणतन्त्रको विशिष्टतालाई उच्चतम रुप दिएर जनमुखी र उत्कृष्ट सर्वोपरि सार्थक बनाउन सकिएन भने ती सहिदहरूको आँशु र रगतको सरापले कसैको भलो गर्दैन । सकिन्छ सहि कदम र असल प्रवृत्तिलाई समर्थन गरौँ र गलत पात्र, खराब प्रवृत्ति , प्रतिगामी कदमलाई भन्डाफोर गरौँ । तसर्थ अग्रगामी उपलब्धिहरूमाथि कोहि कसैले खेलबाड नगर्न अनुरोध साथ सत्य र न्यायको पक्षमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न एक ढिक्का भएर विभेदरहित , न्यायपूर्ण , समतामूलक समृद्ध समाजवादी दिशामा अगाडि बढ्नुको विकल्प छैन । जय मातृभुमी !!!  

- चम्पक किराती कोँइच