काठमाडौं। इजरायलले मागेको नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि आज(मङ्गलवार) आवेदन खुलाएको हो।

२५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि इजरायलले यसअघि नेपाली कामदार लैजान आनाकानी गरिरहेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । सरकार टु सरकार (जीटूजी)मार्फत कामदार पठाउन गएकाे असाेज १४ गते सरकारले इजरायलसँग सम्झाैता गरेकाे थियाे । 

कस्ताले जान पाउँछन् ?
इजरायल जान इच्छुक कामदारको विभिन्न योग्यता तोकिएको छ । सरकारले जारी गरेको यससम्बन्धी निर्देशिकाअनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मीटर उचाइ तथा ४५ केजी तौल भएको र कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महीनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा त्यस सरहको शैक्षिक योग्यता प्राप्त गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालीम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालीम प्राप्त गरेको हुनुपर्नेछ । साथै अंग्रेजी भाषाको ज्ञान भएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र असल चरित्र भएको हुनुपर्नेछ ।