काठमाडौं। पछिल्लो समय टिकटिकले गर्दा विभिन्न ठाउँहरु भाइरल हुने गरेका छन्। र, टिकटिक बनाउने व्यक्तिहरुलाई आकर्षित गर्न विभिन्न ठाउँलाई छुट्टै अर्थात् अरुभन्दा फरक किसिमले आकर्षित बनाउने गरी सजावट गरिन्छ।

त्यस्तै, युवापुस्तालाई आकर्षित गर्न बनाइएको एक ठाउँ हो, ललितपुर जावलाखेल सदर चिडियाखानाको उत्तर तिरको पर्खालको आडैमा बनाइएको ‘लभ लक’ अर्थात् प्रेमको गाँठो। जहाँ नजिकै मन्दिर पनि रहेको छ र मन्दिरको छेउकै भित्तामा दुई वटा साइनबोर्ड जस्तो आकारभित्र ताल्चाहरु झुण्ड्याउन मिल्ने तारजाली राखिएको छ।

अहिले मन्दिरमा दर्शन गर्न आउने कतिपयले त्यो ठाउँलाई नियाल्ने गर्छन् र कुनैकुनै जोडीले त्यस तारजालीमा नामसहितको ताल्चाहरु झुन्डियाउने अर्थात लक गरिदिने गर्छन्। त्यसरी जोडीको नाम लेखी लक गरिएका तालाहरु अहिले त्यहाँ सयौंको संख्यामा देख्न सकिन्छ।

‘लभ लक’ अर्थात् तारजालीमा साँचोलाई झुण्ड्याउने र लक गरिदिने। यसको अर्थ हो, माया सधैंभरि लक होस्। प्रेमी प्रेमिकाको मायामा कुनै दरार नआई सधैंभरि ढोकामा ताल्चा मारेझै माया बलियो भइ राखोस भनेर ताला लगेर लक गरिएको बताउँछन्, त्यहाँ भेटिएका एक जोडी।

नयाँ भएकाले यतिबेला त्यहाँ पुग्ने जो कसैलाई पनि सुरुमा किन यति धेरै ताल्चा झुन्डिएका होलान भनेर अनौठो लाग्न सक्छ। मन्दिर दर्शनसँगै रहेको लभ लकमा केटा र केटीको नाम लेखिएको सयौं ताल्चाहरु लस्करै झुन्डिएका दृश्यले भने अनुमान गर्न सकिन्छ कि यो प्रेमी प्रेमिकाले झुण्डियाएका ताला हो भनेर।

हुनत त्यो ठाउँमा यसरी ताल्चा झुन्डियाउन थालेको भर्खर चार महिना हुँदैछ। कसम खाएर मायाको गाँठो कसिलो बनाउन अचेल प्रेम जोडीहरु एउटा ताल्चा बोकेर त्यहाँ पुग्ने गर्छन्। र, प्रेम प्रेमीको नाम लेखेर ताल्चा झुन्डाएर हिँड्छन्। ताल्चा लक गरेपछि ताल्चाको साचो भने कतै नदिमा वा नभेटिने ठाउँमा फाल्नुपर्ने हुन्छ। अनि विश्वास गरिन्छ, हाम्रो माया यही ताल्चा लागेसरी प्रिय भयो, अब कहिले छुट्ने छैन भनेर।

यही मायालाई कसम खाएर ताल्चा लगाउदा प्रेम सफल हुन्छ र मायाको गाँठो अझ कसिलो हुन्छ भन्ने मान्यताका साथ लभ लक बनाएको बताउँछन्, जावलाखेलका स्थानीय अवधेश बिष्ट। पेशाले नेपाल प्रहरीका डिएसपी रहेका बिष्टले उक्त लभ लक बनाएका हुन्।

अबधेशले प्रेमको ताल्चा लक गर्ने ठाउँ स्थापना गर्नुमा उनका बुवा दिवाकरसँग जोडिएका केही आध्यात्मिक संयोग छ। उनका बुवा दिवाकर बिष्टको निधन भएको १४ वर्ष पूरा भयो। लभ लकनजिकै रहेको महालक्ष्मीस्थान मन्दिर उनकै बुबाले बनाएका गरेका हुन्।

पहिला मन्दिर स्थापना गरेको ठाउँमा मानिसहरुले फोहर थुपार्ने गर्थें। जुन उनका बुबा दिवाकरलाई मन परेन र उनले मानिसहरुले फोहर नफाल्नको लागि त्यहाँ मन्दिर बनाए। तर अपसोच मन्दिरमा मूर्ति प्रतिस्थापन गरेको भोलिपल्ट दिवाकर बिरामी परे र उपचार गर्दागर्दै निधन भयो।

फोहर फाल्ने ठाउँलाई पवित्र बनाउन दिवाकरले उक्त मन्दिर बनाएका थिए। त्यही मन्दिर नजिकै छोरा अबधेशले अहिले हजारौं प्रेम जोडिको बाँचा कसमको संगम स्थल बनाए।

सुरुमा अबधेशले आफ्नो र श्रीमती सीता बिष्ट (अमृता) को नाममा तालामा ए प्लस सी लेखेर त्यहाँ लक गरिदिएका थिए। त्यसपछि प्रचारप्रसार नगरिकनै मानिसहरु त्यहाँ पुग्न थाले र ताला लक गर्न थाले। जसले गर्दा अहिले त्यस ठाउँमा सयौंको संख्यामा तालाहरु झुण्डिएको देख्न सकिन्छ।

अबधेशका अनुसार सायद नेपालको पहिलो प्रेम लक, त्यही नै हो। यस्तो कार्यलाई बिष्ट पर्यटन प्रवर्द्धनसँग पनि जोडछन् र सो ठाउँमा उनले आफ्नै लगानीमा सबै पूर्वाधार बनाएका हुन्।

‘हाम्रो माया अमर रहोस्’ भने भावसहित ताल्चा झुन्डियाउने गरिन्छ। कोरोनाले गर्दा लामो समय घरभित्र बस्दाबस्दा दिक्क लागेका व्यक्तिहरुको चहलपहलसमेत अहिले सो स्थानमा देख्न सकिन्छ।

टिकटक जस्तो लोकप्रिय प्रविधिको एप्लिकेसनबाट भिडियो बनाउन अहिलेका युवाहरु कुनै पनि नयाँ ठाउँ, नयाँ सजावटलाई टारगेट गर्छन्। र, नयाँ तरिकाले सजावट गरेपछि त्यस ठाउँमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ। जुुन, भिड आजभोलि अबधेशले बनाएको लभ लकमा देख्न सकिन्छ।

सेल्फी खिच्ने, टिकटकमा बजाएको गीतको तालमा नाच्चे, अभिनय गर्ने युगल तथा प्रौढ उमेर समुहका जोडीहरुको चहलपहलले अहिले त्यस ठाउँ रमणीय बनेको छ। प्रेमी प्रेमीका मात्रै नभई विवाहित जोडिले पनि उक्त ठाउँमा बाचासहित ताल्चा मार्ने, टिकटक बनाउने गर्छन्।

लभ लक बनाएको जिज्ञासामा अबधेश भन्छन्, ‘सन् २०१३ मा इटली जाँदा जुलियटको घर, भेरोना, इटालीमा आफूले पनि लभ लक स्थानमा गइ लक गरेको सम्झनाले गर्दा नेपालमा पनि बनाएको हुँ।’

उनका अनुसार इटालीमा देखेकोले नेपालमा बनाएको सो लभ लकमा आजभोलि प्रेमीको जोडी मात्र नभएर वैवाहिक जोडी, प्रौढ जोडीहरु गएर आफ्नो माया र साथ जुनीसम्म बाचिरहोस् भनेर प्रतिज्ञा गरी ताल्चा मार्ने र सँगै रहको मन्दिरको दर्शन गर्ने गर्छन्।

फोहोर फाल्ने ठाउँलाई पवित्र बनाउन उनको बुवाले बनाएको उक्त मन्दिरको आडमै बनाएको लभ लक बनाउनको लागि भने उनले करिब ४० हजार रुपैयाँ खर्च गरेका छन्।

पछिल्लो समय विभिन्न ठाउँलाई आकर्षित गर्न मानिसहरुले नयाँ नयाँ विचार ल्याउछन् र त्यहिअनुसार ठाउँलाई सुन्दर आकर्षित बनाउँछन्। र, सुनसान बन्दै आएका कतिपय ठाउँहरु रातारात चर्चामा आउन थालेका छन्। जसले गर्दा नेपालको आन्तरिक पर्यटक समृद्ध हुँदै गएको छ।