बीमा गराउनमा भन्दा बुझाउनमा ध्यान दिनु पर्ने देखिन्छ । बुझ्दैनन्, ठिक हो गार्‍हो बिषय कहाँ सजिलै बुझ्छन् त? पटक-पटक बुझाउनु पर्‍यो नि । बुझ्न चाहन्नन्, ठिक हो नि, त्यसको महत्व नै थाहा छैन अनि किन बुझ्नु पर्‍यो र? रसवरी नखाएको मान्छेलाई रसवरी देख्दा मुखबाट पानी नआउनु स्वभाविक होइन र?

बीमा, कम्पनिका कर्मचारी र अभिकर्ताहरुले आफ्नो स्वार्थ पूरा गर्ने गरी उक्साएर र उक्सेर गर्ने बिषय होइन । यो त बुझेर/बुझाएर आवश्यकता महसुस (Feel) गरेर/गराएर गर्ने विषय हो । अनावश्यक भ्रम र त्रासमा परेर/पारेर बीमा गर्नाले/गरौनाले नै बीमा जस्तो पवित्र संस्था आजसम्म पनि कञ्चन बन्न सकेको छैन। सम्बन्धित निकाय सबैको ध्यान जाओस्। याद गरौँ, कर्मचारी र अभिकर्ता सल्लाहकार बन्ने हो। अनि सल्लाहकार ले दिएको सल्लाहले स्वयंको मात्र फाईदा हेर्छ भने त्यो सल्लाहकारको नाममा कलङ्क हो । त्यस्तासँग जो कोही जोगिनु पर्छ। 

धेरै कुरा राम्रो हुदाहुदै, "बीमा Risk cover & Force Saving को लागी हो।" नाफा/घाटा/लगानी होइन, ख्याल गरौँ। 

शिक्षकको काम पढाउने हो तर यहाँ त शिक्षक परीक्षामा चिट चोराउनेमा मात्र तल्लिन भए झैँ बीमा बुझाउन गाह्रो भो भनेर नबुझाई अत्यन्तै साना बीमा गराइएको पाइयो र बीमा गरेको पनि त्यो आफन्त अभिकर्ताले धेरै किचकिच गरेकोले आफ्नो लागि नभई अभिकर्ताको किचकिचबाट मुक्त हुनका लागि गरियो।  त्यसकारण बीमालाई धेरैले गलत तरिकाले बुझेका हुन् ।

पहिले ढोका खोजौँ, कतै भित्ता फोर्न खोजेका त छैनौँ? ढोका पनि कहाँ सजिलै खुल्छ र ? ताल्चा छ कि? ठेल्नु पर्ला कि? सार्नु पर्ला कि? त्यसैले हरेक समस्याको समाधानको आफ्नै तरिका छ । तरिका खोजौँ, भित्तो फोर्न खोज्नु भन्दा ।

परिवार, छोराछोरी, घर, शिक्षा, स्वास्थ, बीमा, रोजगारी, साथीभाई, छरछिमेक, नातागोता यी सबै मानिसको लागी नभै नहुने विषय हुन् । जीवन बीमा बाहेक सबै कुरामा प्रायले ध्यान पुर्‍याएको पाईन्छ । जीवन बीमा नै सर्वेसर्वा त नभनौँ । सबै राम्रो छ राम्रै हुनेछ भन्ने आसा गरौँ । “Hope for the best but prepare for the worst.” भने झैँ । वा “स्याल मार्न जाँदा बाघको खजाना लानु।” भन्थे नि बुढापाकाले हो त्यही हो ।

आजको यो प्रविधि मैत्री दुनियाँमा जीवन तहसनहस हुँदैछ भने मात्र बीमा नभएको कारणले हुदैँछ । नराम्रो होला कि भनेर गर्ने भनेको त मात्र निर्जिवन बीमा हो, जीवन बीमा होइन । जीवन बीमा भनेको त ! जीवन रहँदा, आर्थिक समस्या पर्दा र बुढेसकालमाको गतिलो सहारा हो । त्यो पनि फजुल खर्छ बाट जोगाएर थोपा थोपा जम्मा हुने । आकाश बाट परेको पानीले पोखरी भरिएको झै भरिने हो । आफ्नै पैसा आफैले चलाउन पनि ऋण लिनु पर्ने हुनाले कुनै पनि हालतमा खर्च नहुने र नगरिने । ऋण लिदा पनि बीमा चलिरहने ।

-श्रीकृष्ण नेपाल
(एमडिआरटी तथा स्टार ए.एम, युनियन लाइफ इन्यस्योरेन्स)