मगर चलचित्रकर्मी संघले अनलाईन लघु चलचित्र प्रतियोगिता २०७७ को नतिजा आज प्रकाशन गरेको छ । आईतबार भर्चुअल माध्यमबाट एक कार्यक्रमको आयोजना गरि उक्त नतिजा प्रकाशन गरेको हो । 

कोभिड १९ को महामारी र लकडाउनको विषम अवस्थामा पनि चलचित्रकर्मीहरुको अध्ययन र सृजनालाई सकृयताका साथ निरन्तरता दिने उदेश्यका साथ अनलाईनबाट भए पनि मगर चलचित्रकर्मी संघले अनलाईन लघु चलचित्र प्रतियोगिता २०७७ आयोजना गरेको मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की मगरले बताए ।

प्रतियोगितामा नेपालबाट राजन थापामगर निर्देशित जीवाक, सुमन थापामगर निर्देशित आश्वासन, अशोक आलेमगर निर्देशित ईमसार, मैत्या घर्तीमगर निर्देशित कुलपुजा, मरिचमान घर्तिमगर निर्देशित पिडा, ज्ञान बहादुर थापामगर निर्देशित साली त भेना कै हो, रमेश राना निर्देशित वाचावन्धन, बसन्त कुमार सिंजालीमगर निर्देशित (के) जापानबाट मिन थापा वाहाली निर्देशित रा, बेलायतबाट विश्वजित थापा निर्देशित अलिखित सहित जम्मा १० वटा चलचित्रहरु सहभागी रहेको थियो । 

उक्त चलचित्रहरु मध्ये सर्वोउत्कृष्ट चलचित्र राजन थापा निर्देशित जीवाक, दोस्रो सुमन थापा निर्देशित आश्वासन र तेस्रोमा अशोक आले निर्देशित ईमसार, स्कृनप्ले पुरस्कार जीवाक, सम्पादन जीवाक र सिनेमाटोग्राफी पुरस्कार आश्वासनले प्राप्त गरेका छन । पुरस्कृत चलचित्रहरुलाई क्रमश नगद रु. २५,०००/- रु. २०,०००/-  रु. १५,०००/- र अन्य अवार्डको लागी रु. ५,००० हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । 

पुरस्कृत चलचित्रकर्मी जीवाकका निर्देशक राजन थापा, आश्वासनका निर्देशक सुमन थापा र ईमसारका निर्मात्री सुधा थापामगरले आफु हरु पहिलो प्रयासमा नै पुरस्कार प्राप्त गरेको र यसले अझ उत्साहित बनाएको र आगामी दिनहरुमा चलचित्रहरु निर्माण गरिरहने बताएका थिए । 

कार्यक्रम प्रतियोगिताका संयोजक तथा मगर चलचित्रकर्मी संघका केन्द्रिय सदस्य तिल बहादुर थापामगरद्धारा संचालित उक्त कार्यक्रममा बेलायत निवासी अस्मिता श्रीसले लघु चलचित्रको महत्व, मगर चलचित्रका प्रथम नायक तथा बरिष्ठ चलचित्रकर्मी राज थापाले अभिनयमा चरित्र निर्माणको महत्व र वरिष्ठ चलचित्रकर्मी तथा लेखक बिजयरत्न तुलाधरले मातृभाषी लघु चलचित्रको महत्वबारे प्रकाश पारेका थिए । 

चलचित्रकर्मी तथा व्यवसायी प्रतिमाया पुनमगरद्धारा उक्त प्रतियोगिताको विजयी घोषणा भएको थियो भने उक्त कार्यक्रममा विशिष्ठ अतिथि चलचित्र बिकास बोर्डका चलचित्र उत्पादन अधिकृत हरी सिंह रैखोलाले गत डेढ वर्ष देखी चलचित्र विकास बोर्ड र आदिवासी चलचित्र संघहरु विच कार्य हुन नसकेको बताए । त्यस्तै मगर संघ भारतका महासचिव विष्णु राना मगर चलचित्रले मगरको संस्कृती परम्परागत ज्ञान सिपको प्रबद्र्धन गर्ने बताए ।  

कार्यक्रममा बोल्दै आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले आदिवासी मातृभाषी चलचित्रहरुको महत्व, यसको स्तर र बजारको स्थिती बारे प्रकाश पार्दै मगर चलचित्र निमार्णमा प्रतिस्पर्दा हुन आबश्यक रहेको बताए । अध्यक्ष सुनुवारले मगर चलचित्र निर्माण निकै पहिला शुरु भएता पनि यसले संख्यात्मक गति लिन नसकेकोमा चिन्ता प्रकट गरेका छन । 

कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले चलचित्रकर्मीहरुलाई सृजनामा लाग्न र राम्रा राम्रा स्कृनप्ले लेख्न अनुरोध गर्दै लगानीकर्ताको अभाव भएमा नेपाल मगर संघको तर्फबाट पनि निर्माता खोज्न र बजार प्रवद्र्यनमा सहयोग गरिने बताए । कार्यक्रमको समापन गर्दै कार्यक्रमको अध्यक्षता गरिरहेका मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की मगरले सहभागी चलचित्रकर्मी, अतिथी, सहयोगी सम्पुर्णमा धन्यबाद प्रकट गरेका थिए ।