यो बर्खामा बाढी आई
खोलाखेत बग्यो अभागीलाई
नियतिले यति विधि ठग्यो।
पानी पर्यो, रातैभरि
आकाश रोइरह्यो
छानो चुहियो, भित्तो भिज्यो,
घरै चिसो भयो
जमिन भन्नु पखेरा’थ्यो
पहिराले सक्यो
अभागीलाई नियतिले यति विधि ठग्यो।
घर सद्दे छैन टेकूँ टेक्ने धर्ती छैन
खान अन्न छैन रोप्न बाँझो पर्ती छैन
छाना लग्यो, नाना लग्यो, अन्न-दाना लग्यो
अभागीलाई नियतिले यति विधि ठग्यो ।
-रमेशचन्द्र घिमिरे, भोर्लेटार, लमजुङ