काठमाडौं। युरो कप अन्तर्गत गए राति सम्पन्न समुह चरणको दोस्रो खेलमा इटाली, वेल्स र रुस विजयी भएको छ। समुह चरणको दोस्रो खेलमा इटालीले स्वीट्जरल्याण्ड, वेल्सले टर्कि तथा रुसले फिनल्याण्डलाई पराति गरेको हो।

समुह चरणको दोस्रो खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० जितेको छ। इटालीको जितमा मेनुइल लोकाटेलीले २ तथा किरो इमोबाइले १ गोल गरे। समुह 'ए' मा रहेको इटालीले दुई खेलमा शतप्रतिशत नतिजाको साथ ६ अङ्क बटुलेर शीर्ष स्थानमा रहँदै दोस्रो चरणका लाथि स्थान पक्का गरेको छ। समुह चरणको दुई खेल खेलेको स्विट्जरल्याण्ड १ बराबरी र १ पराजय पछि १ अङ्क बटुलेर समुहको तेस्रो स्थानमा रहेको छ।

समहु 'ए' कै अर्को खेलमा वेल्सले टर्किलाई २-० ले जितेको छ। वेल्सको जितमा आरोन राम्से तथा कोन्नोर रोबर्डसले समान १-१ गोल गरे भने दुवै गोलका लागि एसिस्ट ग्यारेथ बेलले गरेका थिए। यसअघिको खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको वेल्स दुई खेलमा ४ अङ्कको साथ दोस्रो स्थानमा रहेको छ।

समुह 'बि' को अर्को खेलमा रुसले फिनल्याण्डलाई १-० ले जितेको छ। रुसलाई जिताउन पहिलो हाफको इन्जुरी समयमा एलेक्सी मिरान्चुकले गोल गरे। यसअघि बेल्जिएमसँग पराजित रुस दुई खेलमा ३ अङ्कको साथ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ।

युरो कप अन्तर्गत आज साँझ समूह चरणको दोस्रो खेलमा समूह 'सी' मा रहेको युक्रेन र उत्तर मेसोडोनिया, समुह 'बी'मा रहेको डेनमार्क र बेल्जिएम तथा समुह 'सि' को नेदरल्याण्ड र अष्ट्रियाबीच खेल हुने छ।