काठमाडौं। विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा बुझाउनुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा बुझाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको हो ।

भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यस वर्ष पनि विद्यालयहरुको मूल्याङ्कन गरेको आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ। नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिइको छ । बोर्डका अध्यक्ष  प्रा डा चन्द्रमणी पौडेलका अनुसार  विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले मुख्य अधिकार विषय शिक्षकलाई दिईएको हो।

कक्षा १० मा विषय शिक्षकले विद्यार्थीहरूलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायत), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ। प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले कार्यविधिले तोकेअनुसार मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ।