रामेछाप। रामेछापको सुनापति गाउँपालिका–४ बेथान स्थित लोप्राङमा बोलेरो गाडी दुर्घटना परेको छ। लोप्राङबाट डहुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०४२ च ५५५२ नम्बरको बोलेरो गाडी सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटनामा परेको हो।

तर, दुर्घटनाग्रस्त गाडी सल्लाको रुखमा अड्किएको कारण मानवीय क्षति भने भएन। दुर्घटनामा परी छ जना घाइतेको प्रहरी र स्थानीयले उद्धार गरेर थप उपचारको लागि बेथान स्थित स्वास्थ्य चौकीमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले बताए।

दुर्घटनमा परी सुनापति गाउँपालिका–४ लोप्राङ बस्ने बर्ष २२ का रामशरण श्रेष्ठ, लोप्राङकै बर्ष १८ का रोज बहादुर श्रेष्ठ, बर्ष २७ का हिमाल श्रेष्ठ, बर्ष ७५ का चक्र बहादुर श्रेष्ठ, बर्ष २४ का ज्ञान बहादुर श्रेष्ठ र बर्ष १८ का सोम बहादुर श्रेष्ठ रहेका छन्। घाइतेहरुको हात खुट्टा र अनुहारमा चोट लागेको प्रहरीले बताएको छ।

घाइतेहरुको तत्काल स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको सुनापति गाउँपालिका–४ बेथानका वडाअध्यक्ष खड्ग घिसिङले जानकारी दिए।