काठमाडौं। सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको निवृत्तिभरण (पेन्सन) सिधै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने भएको छ। विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली लागू गरिएको हो।
आईतबार महालेखा नियन्त्रकको कार्यालयले एक कार्यक्रमबीच महालेखा नियन्त्रक मधुकुमार मरासिनीले शुभारम्भ गरेको यस प्रणालीबाट निजामती, प्रहरी, जङ्गी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने जनाएको छ। यस प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागू गर्न ठुलो सहयोग पुग्ने महालेखा नियन्त्रक मरासिनीको भनाई छ। ‘यस प्रणालीले पारदर्शिता कायम हुनुका साथै लागत प्रभावकारीमासमेत सघाउ पुर्याउने छ’ नियन्त्रक मरासिनीले बताए।

