काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ।

मूल्य वृद्धि भएपछि पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, डिजल तथा मट्टीतेलको १०८ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ। निगमले यसअघि जेठ दुई गते पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो।

निगमले भारतीय आयल कर्पोरेसनबाट बढेको मूल्यमा पेट्रोलियम पदार्थ प्राप्त भएको मूल्य बढाएको जनाएको छ। निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएकाले मूल्य बढाउनु परेको निगमले कारण देखाएको छ। स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानाएका छन्।

मूल्य वृद्धि पछिपनि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा हुने प्रवक्ता उपाध्यायले बताए ।