काठमाडौं। स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहितको अध्यादेश ल्याउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ। कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला बाँकेको नेपालगञ्जमा बिरामीका आफन्तले स्वास्थ्यकर्मीहरूलाई ज्यानै लिने गरी हमला भएपछि सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६, को संशोधन गरी स्वास्थ्यकर्मीलाई दूर्व्यबहार गर्ने र स्वास्थ्य संस्था तोडफोड गर्नेलाई कानूनी दायरामा ल्याउन अध्यादेशको मस्यौदा तयार पारेको हो। जसमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउनेलाई दुई लाख जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ।

स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्ने जस्ता कार्यलालाई पनि सोही सजाय हुने प्रस्ताव गरिएको छ। सरकारले ल्याउन लागेको विधेयकमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुबै सजाय प्रस्ताव गरिएको छ।

त्यस्तै बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद प्रस्ताव गरिएको छ।