लण्डन। नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को चौथो राष्ट्रिय अधिवेशन आगामी जुन १९ शनिबार हुने भएको छ । महासंघको कार्यसमितिको गत मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कोभिड–१९ र जारी राष्ट्रिय लकडाउनका कारण महाधिवेशन भर्चुअल रुपमै सम्पन्न हुने भएको छ ।

अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा बसेको बैठकले चौथो महाधिवेशनको निर्वाचन गर्नका लागि भक्तबहादुर दुराको अध्यक्षतामा तीन–सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । समितिको अन्य दुई सदस्यहरुमा महासंघका पूर्व अध्यक्ष थर्क राना र सल्लाहकार धर्म तामाङ रहेका छन् ।

एकेन्द्र गुरुङ संयोजक रहेको विधान समितिले यसअघि नै संघीय परिषदबाट पारित मस्यौदाहरु महाधिवेशनमा अनुमोदनको लागि पेश गर्ने तयारी गरेको छ

यसै बीच, नेफिन यूकेका अध्यक्ष जंग सुनुवारले हाल नेपालमा उत्पन्न स्वास्थ्य संकटसंग जुध्न नेफिन नेपालले गरिरहेको अभियानमा साथ दिन बेलायतवासी सबै आदिवासी जनजातिहरुलाई आब्ह्वान गरेका छन् । महासंघले हालै उपाध्यक्ष लिला सेलिङ माबोको संयोजकत्वमा कोभिड–१९ रिलिभ फण्डका लागि आर्थिक संकलन गरिरहेको छ।