काठमाडौं। हिमपातको कारण सगरमाथा आरोहण प्रभावित बनेको छ। आधार शिविरबाट उचाईमा जानेक्रममा रहेका आरोहीहरू सुरक्षित स्थानमा फर्किएको आरधार शिविरका सम्पर्क अधिकृत खिमलाल गौतमले बताएका छन्। 

सगरमाथाको उचाईमा पुग्न लागेका आरोहीहरू मौसम प्रतिकुल हुँदा शिखर नपुगी फर्केका हुन्। हाल उनीहरू क्याम्प टूमा आएर बसेका छन् । क्याम्प टू फर्किने आरोही र शेर्पा सहयोगी गरेर तीन दर्जन बढी संख्यामा छन्  उनीहरू अल्पाइन एशोसियसन र पीक प्रमोसन कम्पनीबाट आरोहण गर्न आएको समूह क्याम्प टू फर्केको गौतमले बताए ।

‘सफा हिमाल २०२१’ अभियानका समन्वय लागि आधार शिविर पुगेको सैनिक अधिकृत आदित्य कार्कीले जेठ ११ गतेबाटै सगरमाथा क्षेत्रको मौसम खराब हुँदै गएको बताएका छन् । पूर्वीमध्य बङ्गालको खाडीबाट विकसित न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएपछि चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबारदेखि नै हिमपात सुरु भएको छ।

मौसम पूर्वानुमानकर्ताहरूले २९ तारिखदेखि मौसम खुल्ने सम्भाना रहेकाले आरोहीहरु उक्त दिनको पर्खाइमा रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताएका छन्। उहाँका अनुसार अहिले पनि आधारशिविरमा करिब १५० जना आरोही अनुकुल मौसमको प्रतिक्षामा छन्। यस पटक सबैभन्दा धेरै ४०८ जनाले सगरमाथा आरोहणको अनुमती लिएका थिए ।