काभ्रेपलाञ्चोक डायरी:

नेपालमा पछिल्लो समय कोभिड १९ दोस्रो लहर संक्रमण तिब्र रुपमा समुदाय तहमा पुगेको छ। पछिल्लो समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अध्ययनले नेपालमा बढी खतरनाक र जुनसुकै उमेर समूहमा फैलिने नयाँ भारतीय भेरियन्ट र बेलायती भेरियन्ट फैलिएको प्रमाणित भइसकेको छ । काभ्रेपलाञ्चोक जिल्लामा पनि कोभिड १९ संक्रमण समुदायहरुमा डढेलोको गति सल्किएको सम्बद्द तथ्याङ्कले पुष्टि गरेको पाइन्छ। हालसम्म यस जिल्लामा कुल ५८७४ जना संक्रमितहरु मध्ये १२४ जनाको मृत्यु भएको देखिन्छ। कोभिड १९ को दोस्रो लहरमा बैशाख महिना यता मात्रै २४६० जना संक्रमित भएकाहरु मध्ये ४६६ जना संक्रमणमुक्त्त भइसकेका छन भने हाल १०६ जना संस्थागत आइसोलेसनमा तथा १८२७ जना होम आइसोलेसनमा रहेका छन र ६१ जनाको मृत्यु भएको देखिन्छ। यसबाट पनि कोभिड १९ गतवर्षको पहिलो लहर भन्दा यस वर्षको दोस्रो लहर बढी घातक भएको स्पष्टै देखिन्छ।

जिल्लामा कोभिड -१९ महामारीले ल्याएको स्वास्थ्य संकटको प्रतिकार्य (Response) गर्न जिल्लामा सम्पूर्ण निकाय तथा संयन्त्रहरू परिचालित हुदै आएका छन् । विषेश गरी समुदायस्तरमा फैलिएर महामारीको स्वरुपमा झाँङ्गिदै गरेको कोभिड -१९ संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचार चक्रको सम्पूर्ण चरणमा स्थानीय प्रशासन कमाण्ड, कन्ट्रोल र कोअर्डिनेशन चुस्त बनाउन कृयाशिल रहेको छ । यस सन्दर्भमा स्थानीय प्रशासन, जिल्लास्तरीय कोभिड -१९ संकट व्यवस्थापन केन्द्र र स्थानीय तहको तर्फबाट लिइएको प्रमुख पहल तथा प्रयासहरूलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ ।

निषेधाज्ञा जारी तथा कार्यान्वयन:

काभ्रेपलाञ्चोक जिल्लामा कोभिड -१९ संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न प्रथम चरणमा संक्रमणदर तिब्र एवं बढी जनघनत्व भएका बढी चहलपहल हुने बजार तथा राजमार्ग क्षेत्रमा आंशिक निषेधाज्ञा जारी गरीयो। यस अबधिको समिक्षा गर्दै शहरी क्षेत्र तथा ग्रामिण क्षेत्रमा पनि समुदायस्तरमा संक्रमण सल्किएकोले जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको छ। जिल्लाभर जारी निषेधातज्ञाको उलङ्घन गरेमा प्रचलित कानुन बमोजिम जरिवाना सहित कारबाही गरी निषेधाज्ञाको कार्यान्वयनलाई कडाई गरिएको छ। जारी निषेधाज्ञाको कार्यान्वयनमा सुरक्षा निकायहरू सघन रुपमा परिचालित भएका छन्।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा सम्बन्धी कार्यालय, सवारी साधन र गतिविधिलाई मात्र अनुमति प्रदान गरिएको छ। अत्यावश्यक सरकारी तथा अन्य कार्यालयहरूले पनि न्यूनतम कर्मचारी खटाई अत्यावश्यक सेवा प्रवाह गर्ने ब्यवस्था मिलाइएको छ । निषेधाज्ञाको पालना गर्न समस्त जिल्लाबासी नागरिकहरू र सम्बद्द सबै सरोकारवालाहरूमा अनुरोध गरिएको छ भने यसका लागि सञ्चार माध्यमहरूबाट प्रचार प्रसार गरिएको छ ।

आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालन:

जिल्लामा कोभिड -१९ संक्रमितहरूको उपचार कार्यलाई प्रभावकारी बनाउन प्रत्येक स्थानीय तहहरूमा न्यूनतम एक वटा आइसोलेशन केन्द्र स्थापना गरी सञ्चालन गर्ने निर्णयानुसार जिल्लाका सबै नगरपालिका तथा गाँउपालिकाहरूले आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनमा सहजीकरण तथा साझेदारी गरीरहेका छन्। जिल्लाभर सञ्चालित संस्थागत आइसोलेशन केन्द्रहरूमा अक्सिजन सहितका बेडहरू व्यवस्थापन गरिएको छ। होम आइसोलेसनमा रहेका संक्रमितहरूलाई चिकित्सकबाट परामर्श हुने व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको छ।

संस्थागत आइसोलेशन केन्द्रहरूको विबरण:

क्र सं

स्थानीय तह

आइसोलेशन केन्द्र

क्षमता

धुलिखेल नगरपालिका

संजिवनी मा वि

२५ बेड

बनेपा नगरपालिका

बनेपा पोलिटेक्निक इनिस्टिच्युट

भोमी अस्पताल

५० बेड

२५ बेड

पनौती नगरपालिका

इन्द्रेश्वर मा वि.,  चौखाल

३० बेड

पाँचखाल नगरपालिका

समाज कल्याण प्रा वि

४० बेड

नमोबुद्द नगरपालिका

जनक मा वि, मेथिनकोट

४० बेड

मण्डनदेउपुर नगरपालिका

महादेव प्रा वि, डेडिथुम्का

४० बेड

बेथानचोक गाँउपालिका

ढुङ्खर्क स्वास्थ्य चौकि

१० बेड

चौरीदेउराली गाँउपालिका

धुर्सेली प्राथमिक स्वास्थ्य चौकि

१५ बेड

तेमाल गाँउपालिका

गाँउपालिका भवन तथा स्वास्थ्य शाखा

२० बेड

१०

रोशी गाँउपालिका

जनक मा वि, मेथिनकोटमा नमोबुद्द नगरपालिकासँग साझेदारी


-

११

भुम्लु गाँउपालिका

समाज कल्याण प्रा वि मा पाँचखाल नगरपालिकासँग साझेदारी

-

१२

महाभारत गाँउपालिका

स्वास्थ्य चौकि, घर्तीछाप

२० बेड

१३

खानीखोला गाँउपालिका

महिला सामुदायिक भवन, तालढुङ्गा

१० बेड

अक्सिजन व्यवस्थापन तथा सहजिकरण:

यस जिल्लाको पनौती नगरपालिका वडा नं -५ ढलमलेमा नवज्योती ग्याँसेस प्रा.लि.ले अक्सिजन लगायत अन्य ग्याँसहरू उत्पादन गरीरहेको छ। कोभिड -१९ संक्रमणलाई उपचारको लागि अक्सिजन ग्याँसको देशभर नै अत्यधिक माग भएको कारणले नियमित आपूर्तिले धान्न नसक्दा अक्सिजन ब्यवस्थापन चुनौतीपूर्ण भयो। काभ्रेपलाञ्चोकमा नै अक्सिजन उत्पादन हुने भएकोले जिल्लामा अक्सिजन व्यवस्थापन सहज हुने आँकलन थियो तर केन्द्रीय तहबाट अक्सिजन बितरण प्रणालीमा गरिएको नीतिगत निर्देशन कार्यान्वयन गर्दै गर्दा जिल्लामा अक्सिजन ब्यवस्थापनमा केही चाप पर्‍यो तर अक्सिजन आपूर्तिमा व्यवस्थापन तथा सहजिकरणमा अर्जुनदृष्टिका साथ कार्यसम्पादन गरीयो।

जिल्लामा उत्पादित अक्सिजनको आपूर्ति कार्यलाई सरल, पारदर्शी र जवाफदेही बनाउन प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्वमा नियमित, आकस्मिक र सूक्ष्म निरीक्षण तथा अनुगमन गरिएको छ। नवज्योती ग्याँसेस प्रा.लि. चौबिसै घण्टा सञ्चालनका लागि सुरक्षा निकायहरूबाट सहजिकरण गरिएको छ। साथै जिल्लामा रहेका कोभिड -१९ डेडिकेटेड अस्पतालहरू तथा आइसोलेशन केन्द्रहरूमा समेत अक्सिजनको सहजिकरणमा प्रथमिकता दिइएको छ। विशेषगरी धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल,  मेथिनकोट अस्पताल र भोमि अस्पताललाई कोभिड -१९ डेडिकेटेड अस्पतालको रुपमा ब्यवस्थापन तथा सहजीकरण गरिएको छ।

अन्त्यमा:

काभ्रेपलाञ्चोक जिल्लामा कोभिड -१९ को दोस्रो लहरको रोकथाम, नियन्त्रण तथा उपचारको क्रममा फ्रन्टलाइनमा रहेका सम्पूर्ण निकाय, संयन्त्र र सरोकारवालाहरूले अझै अधिकतम प्रयास गर्नु अपरिहार्य त छँदैछ यस महामारीबाट हुने सम्भावित बहुआयामिक क्षति न्यूनीकरण गर्न महामारी उत्थानशील(Pandemic Resilient ) संस्कृति प्रवर्द्धन गर्नुपर्ने नागरिक अग्रसरताको खाँचो छ। समाजमा संकट परेको समयमा नागरिकको अधिकारवादी दृष्टिकोणले मात्र पुग्दैन नागरिकको जिम्मेवारी एंव दायित्व निर्वाहलाई बढी ख्याल गर्नुपर्छ।

- अमरदीप सुनुवार, सहायक प्रमुख जिल्ला अधिकारी, काभ्रेपलाञ्चोक