सिन्धुलीमाढी। सिन्धुलीमा निषेधाज्ञाको समयमा अनुगमनलाई तिव्रता दिइने भएको छ । निषेधाज्ञामा बजारमा कालोबजारी हुन सक्ने भएकाले अनुगमन लाई तिव्रता दिइने आज प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा जिल्ला प्रसासन कार्यलयमा बसेको बैठकले निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रसाद सिटौलाका अनुसार अनुगमनको कार्यलाई तिव्रता दिई सामान लुकाउने, मुल्य बढाउने कार्य हुन सक्ने भएकाले कालोबजारी नियन्त्रण, सामानको स्टकको अवस्था बुझि कारबाही गरिने जनाइएको छ ।

त्यस्तै निषेधाज्ञाको समयमा खोल्न निषेध गरिएका होटलहरु लुकिछिपि खोल्ने गरेको जानकारी पाइएकाले त्यस्ता होटल व्यवसायीहरू लाई कारबाही गरिने आजको बैठकले निर्णय गरेको छ ।

अत्यावश्यक काम बाहेक बिनाकारण घर भन्दा बाहिर हिँडडुल गर्ने तथा निषेधाज्ञाको पालना नगर्ने, जनस्वास्थ्य मापदण्डको पालना नगर्ने तथा अनावश्यक भिडभाड गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२०, तथा स्थानीय प्रशासन ऐन, २०२८, बमोजिम कारबाही गरिने पनि आज बसेको बैठकले निर्णय भएको जनाउनु भएको छ।