नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने जिकिर गर्नुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो ।

जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएकी उहाँलाई हटाउनु उचित हुदैन, यसबाट सत्तापक्ष पछिहट्ने मेरो विश्वास छ”,पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो । फरक प्रसङ्गमा अध्यक्ष दाहालले संवैधानिक परिषद्को हिजोको बैठकमा प्रधानन्यायाधीशमा आठ जनाको सिफारिस भएको जानकारी दिँदै ज्येठताका आधारमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले व्यवस्था परिवर्तनका लागि माओवादी केन्द्रले ठूलो त्याग र बलिदान गरेकाले सबै प्रदेशमा पार्टीलाई सुदृढ गर्ने अभियानमा आफू लागेको बताउनुभयो । अर्को प्रसङ्गमा अध्यक्ष दाहालले भन्नुभयो,“प्रतिनिधिसभाले ‘हिंसा’ शब्द अभिलेखबाट नहटाएसम्म संसद् अवरुद्ध हुने छ ।”