काठमाडौं- बैंक अफ काठमाण्डू लिमिटेड (बिओके)ले माछापोखरीको कालिमाटी फलफूल तथा तरकारी बजार, नगदरहित डिजिटल कारोबार सेवा सुरु गरेको छ ।

डिजिटल कारोबार विस्तारित गर्ने क्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा क्युआर कोड स्क्यान गरी नगदरहित डिजिटल भुक्तानी सेवा बैंक अफ काठमाण्डू लिमिटेडले शुक्रबार औपचारिक रुपमा सुरु गरेको हो ।

कार्यक्रमकामा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलबाट समुद्घाटन भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले स्क्यान गरी भुक्तानी गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई धन्यवाद दिएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पन्तले नगदरहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी दिए ।

हालसम्म ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।