प्रतिनिधी सभा, राष्ट्रिय सभा र प्रदेश सभाका आदिबासी जनजाति महिला सांसदहरुको दुई दिवसीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंसिर २७ र २८ गते नगरकोट स्थित होटल कन्ट्री भिल्लामा महिला सांसदहरुको क्षमता अभिबृद्धीका लागी आत्म निगरानी, आत्म मुल्याङ्कन, अन्तर ब्यक्तीगत संचार, वार्ता लैङ्गिकताको अन्तरपक्षीयता र लैङ्गिक उत्तरदायी बजेटिङको बिषयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । 

राष्ट्रिय आदिबासी जनजाति महिला मंचको आयोजनामा प्रतिनिधी सभा, राष्ट्रिय सभा र बिभिन्न प्रदेशबाट ३३ जना सांसदहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रममा डा. कृष्ण भट्टचन, हिम्मत सिंह लेकाली र डा. सबिता धाक्वाले आदिबासी जनजाति महिला सँग सरोकार राख्ने बिभिन्न बिषयमा प्रशिक्षण दिएका थिए । सुनी लामाको अध्यक्षतामा संचालित दुई दिवसीय कार्यक्रमको उद्घाटन प्रतिनिधी सभाका उप सभामुख इन्दिरा राना मगरले गर्नु भएको थियो । राष्ट्रिय आदिबासी जनजाति महिला मंचका उपाध्यक्ष यसोकान्ती भट्टचनले कार्यक्रमको सहिजीकरण गर्नु भएको थियो ।

आदिबासी जनजाति महिला सांसदहरुले संसदमा उठ्न नसकेका, सम्बोधन हुन नसकेका नागरिकहरुको सवाल एबम् आ–आफ्नो बिषय बस्तुमा दृढता साथ संसदमा उठाउन र सम्बन्धीत ठाउँमा तर्क एबम बहस गर्न लागी यो सशक्तीकरण कार्यक्रमको आयोजना गरिएको मंचका अध्यक्ष सुनी लामाले बताउनु भयो । कार्यक्रम अत्यन्तै फलदायी भएको सहभागी सांसदहरुले बताउनुभयो । 
राष्ट्रिय आदिबासी जनजाति महिला मंचले यस अघी पनी प्रतिनिधी सभा, राष्ट्रिय सभा र प्रदेश सभाका आदिबासी जनाजाति महिला सांसदको राष्ट्रिय भेला आयोजना गरेको थियो । त्यसैगरि बागमती प्रदेशमा भाषा आयोगले सिफारिष गरेको तामाङ भाषा र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउनको लागी प्रदेश भाषा ऐन पारित गराउन पहल कदमी स्वरुप बागमती प्रदेशका सबै सांसदहरुलाई भेला गरि छलफल समेत गरेको थियो ।

कार्यक्रमका केही तस्विरहरु तल राखिएको छ ।