नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरबारे सरकारले औपचारिक रूपमा विश्वसामु राख्नुपर्ने बताउनुभएको छ ।
एमालेको परराष्ट्र मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप–२८ मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा आज आयोजित विज्ञसँगको छलफल कार्यक्रममा उहाँले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा पर्यावरणीय सङ्कट निम्तिन सक्ने बताउँदै नेपालले सङ्कट टार्न विश्व समुदायको ध्यान आकर्षण गर्न ढिला गर्न नहुने बताउनुभयो ।
हिमाललाई तीव्र असर पुर्याउने काम विकसित देशले गरिरहेका छन् । त्यसबापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी बचाउने भन्ने तर्फ ध्यान दिने बेला आएको छ– उहाँले जोड दिनुभयो ।
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टाराईले जलवायु परिवर्तनका असरको विषय कूटनैतिक हिसाबमा प्रभावकारी लविङ गर्ने बेला आएको बताउनुभयो ।
पार्टी वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन्यजन्तु विभागका महानिर्देशक डा सिन्धु ढुङ्गानाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने डा विमला राई पौडेल, घनश्याम पाण्डे कञ्चन लामा, डा महेश्वर ढकाल, नवराज पुडासैनी लगायतले विचार राख्नुभएको थियो ।

