हिमाली जिल्ला मनाङको प्रवेशद्वार नासों गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ ।
लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “हाम्रा अग्रजले मान्दै आउनुभएको संस्कृति र हिउँ चितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको थियो ।
अहिले यी लोपोन्मुख चिजको प्रवद्र्धन आवश्यक छ । पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्छ र लागिपरेका छौँ ।” उहाँले हिउँ चितुवा र संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना रहेको बताउनुभयो ।
यहाँको मुख्य आय नै पर्यटन भएकाले यसको पनि उपयोगमा जोड दिइएको उहाँको भनाइ छ । चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेसनका संयोजक नरेन्द्र लामाले जलवायु परिवर्तनले हिउँ चितुवाको सङ्ख्या घट्दो अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको जनाउँछ । विश्वमा नेपाललाई हिउँ चितुवाको बासस्थानको रुपमा चिनिने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हिउँ चितुवालाई हिमालको रानी भनिन्छ ।
हिमाली वातावरणको सूचक हिउँ चितुवा हो । जुन हिमालमा हिउँ चितुवाको राम्रो बासस्थान छ । त्यो हिमाली क्षेत्रको वातावरण सफा र स्वच्छ छ भनिन्छ ।” विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन् । तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा पाइन्छ ।

