बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानको भावना र मर्मअनुरुप प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । 

हेटौँडामा मन्त्री श्रेष्ठले आज आयोजना गर्नुभएको शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुँदै प्रदेश सरकार सङ्घीयतालाई कार्यान्वयन गर्दै प्रदेश निजामती ऐन पारित गरी कर्मचारी व्यवस्थापन र परिचालनमा जुटेको बताउनुभयो ।

ऐन कार्यान्वयन गरेर दुई जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको मन्त्री श्रेष्ठले सुनाउनुभयो । प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न संसद्बाटै ऐन पारित गरी कार्यान्वयनमा ल्याइएको समेत उहाँले बताउनुभयो । 

गठबन्धन सरकारले गरेको प्रतिबद्धता अनुरुप भदौ मसान्तसम्म प्रहरी समायोजन गर्नुपर्नेमा तिहारअघि उक्त प्रतिबद्धताअनुरुप काम हुने विश्वाससमेत लिइएको मन्त्री श्रेष्ठले बताउनुभयो ।