प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकको मर्यादित र सम्मानजनक जीवनका लागि व्यवस्था गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 

तेत्तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा समाज कल्याण परिषद् र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको आयोजनामा ‘शताब्दी व्यक्तित्व’ सम्मान तथा ‘शताब्दी व्यक्तित्व पुस्तक’ विमोचन कार्यक्रममा उहाँले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो । 

“नेपालमा ज्येष्ठ नागरिकको सम्मान र माया गर्ने प्रकृया विस्तारै विकास हुदै गएको छ, “सभामुख घिमिरेले भन्नुभयो, “कमाउन सक्दा प्यारो, खट्न नसक्दा परिवारबाट नै अपहेलित हुने केही अवस्था भए पनि राजनीतिक परिवर्तन हँुदै जाँदा सम्मान र सहयोग गर्ने परिपाटीको विकास हँुदै गएको छ ।” 

कोष स्थापना हुने बित्तिकै ज्येष्ठ नागरिकका लागि महत्वपूर्ण काम गर्दै आएको र शताब्दी व्यक्तित्वलाई सम्मान गर्ने काम प्रभावकारी भएको उहाँले बताउनुभयो । कार्यक्रममा सभामुख घिमिरेले शताब्दी व्यक्तित्व मानव अधिकारवादी डा गौरीशङ्कर लाल दास, टङ्कबहादुर थापा, दोस्रो विश्व युद्ध लडेका चन्द्रबहादुर सुनुवार, इन्द्रमाया पौडेल, कृष्णथकु ग्वाछा र सानुमान शाक्यलाई सम्मान गर्नुभएको थियोे । 

पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडेलले सहज बुढ्यौली जीवनमा विगतमा भए÷गरेका कुराको स्मरण गराउने र मर्यादित जीवनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । सांसद कर्ण थापाले ज्येष्ठ नागरिकलाई कानुनी, आर्थिक, सामाजिकरूपले संरक्षण गरी प्रत्येक ज्येष्ठ नागरिकसँग भएको ज्ञान, सीप र अनुभव लिनुपर्ने बताउनुभयो । 

शताब्दी पुरुष गौरीशङ्कर लाल दासले संविधानमा ज्येष्ठ नागरिकलाई विशेष व्यवस्था गरिने भनिएपनि कानुन प्रभावकारी कार्यान्वयन हुन नसक्दा ज्येष्ठ नागरिकले पाउने सुविधा पाउन नसकेको अनुभव सुनाउनुभयो । वरिष्ठ कलाकार तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका पूर्वअध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चित गर्नका लागि सरकारले बनाएको कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । 

नागरिकता अभावका कारणले केही ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउनबाट बञ्चित भएको उहाँले जानकारी गराउनुभयो । एजिङ नेपालका निर्देशक प्रकाश गौतमले ज्येष्ठ नागरिकलाई सबैले माया, सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कोषका सभापति वसन्तराज कार्कीले सय वर्ष पुगेका व्यक्तिलाई ‘विशिष्ट नागरिक’ घोषणा गरी विशेष सेवा दिन माग गर्नुभयो । 

कार्यक्रममा ‘शताब्दी व्यक्तित्व’ नामक कृतिको सभामुख घिमिरेले सार्वजनिक गर्नुभएको थियोे । पुस्तकमा ६१ जना शताब्दी व्यक्तित्वका बारेमा लेखिएको छ ।