लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ ।
बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो । पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् ।
वर्षा रोकिएपछि तत्काल मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताउनुभयो । त्यस्तै बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा यातायात अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

