सिन्धुली । प्रथम उपमेयर कप किशोरी भलिबल प्रतियागिताको उपाधी वडा नं ७ ले जितेको छ। सिन्धुलीमाढीमा जारी प्रथम उपमेयर कप किशोरी भलिबल प्रतियागिता आज समापन भएको छ।

आज भएको फाइनल खेलमा कमलमाई नगरपालिका वडा नं ७ र वडा नं १० बीच प्रतिस्पर्धा भएको थियो। जसमा वडा नं ७ बिजेता भएको छ भने वडा नं १० ले उपबिजेतामा चित्त बुझाएको छ। ३-२ को सेटमा वडा नं ७ बिजयी भएको हो । बिजेता वडाले ५० हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेताले २५ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडि वडा नं ७ का कुशुम थापा बन्नु भएको छ। कमलमाई नगरपालिका १० का सबिता कुमारी चौहान उत्कृष्ट स्पाइकर,वडा नं ७ का उषा पुलामि उत्कृष्ट डिफेन्डर वडा नं १० का सपना कार्की उत्कृष्ट सर्भिस र वडा नं ७ का सुजिता लोप्चन उत्कृष्ट लिफ्टर बन्नुभएको छ।

खेल लिगचरणमा खेलाइएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र फुयालको अध्यक्षता तथा कमलमाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा उपप्रमुख मन्जु देबकोटाको बिशिष्ट आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगिता गत चैत्र १२ गतेबाट सिन्धुलीमाढिमा सुरु भएको थियो। समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग खत्रीले नगरपालिकामा महिला खेलाडिको सहभागितामा बृद्धि गर्न आबश्यक रहेको बताउनु भयो। उहाँले महिला खेलाडि उत्पादनको लागि बिशेष तालिमको पनि आयोजना गरिने बताउनु भयो।

महिलाहरुलाई खेलकुद प्रतियोगितामा अग्रसर बनाउने प्रयासले कमलामाई नगरपालकाले महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको उपप्रमुख मन्जु देबकोटाले बताउनु भयो। महिलाहरु चुला, चौको, मेलापात, जस्ता कार्यमा मात्रै सीमित नभई खेलकुदमा पनि अग्रसर हुनुपर्न उहाँले बताउनु भयो।

नगर खेलकुद विकास समितिका सदस्य राजु योन्जनका अनुसार प्रतियोगितामा ५ वटा वडाको सहभागिता रहेको थियो। कमलमाई नगरपालिकाको १४ वटा वडामध्ये ९ वटा वडा खेलकुद प्रतियोगितामा सहभागी नभएको सदस्य योन्जनले जानकारी दिनुभयो ।