काठमाडौं। टेक बहादुर बिष्णुमाया सुनुवार स्मृती कोषबाट प्रदान गरिने कला तथा साहित्य पुरुस्कार गायिका कल्पना सुनुवार लाई प्रदान गरिएको छ ।


 

सुनुवार सेवा समाजको कार्यालय काठमाडौं काटेश्वरमा एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार बितरण गरिएको हो । बिगत एक दशकदेखि नेपाली गित संगितमा क्रियाशिल रहँदै आएकी गायिका सुनुवारले सुनुवार कोइँच भाषाको गे तेङा गो तेङा र पोकली कोथ जाकिन गित समेत गाएकी छन् ।

कला र साहित्यको माध्यमबाट आदिवासी सुनुवार कोइँच भाषाको संरक्षण प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ प्रत्येक वर्ष कला साहित्यको क्षेत्रमा क्रियाशिल एक जना सुनुवारलाई प्रोत्साहन स्वरुप पुरुस्कार वितरण गर्नका लागी स्वर्गिय पतिपत्नीद्वय टेक बहादुर सुनुवार र बिष्णुमाया सुनुवारको स्मृतीमा सुनुवार सेवा समाज अन्तर्गत रहने गरी छोरीहरु साबित्री सुनुवार, तारादेवी सुनुवार तथा छोराहरु अर्जुन सुनुवार र केदार राज सुनुवारले संयुक्त रुपमा २०७५ सालमा एक लाख दस हजार एक रुपैयाँको कोष स्थापना गरेका थिए । सोही कोषबाट पुरस्कार वितरण हुँदै आई रहेको छ।

पुरस्कार वितरण कार्यक्रममा तारादेवी सुनुवारद्वारा लिखित सुनुवार कोइँच भाषाको गजल संग्रह "झुल्फी फू"को पनी बिमोचन गरिएको छ । लेखक, सर्जक तथा साहित्यकार तारादेवी सुनुवारले यस अघि “परिस्थिति” कविता संग्रह, २०७३, “अविरल” कविता संग्रह, २०७५, सुनुवार भाषाको “थुँ” थ्यनी संग्रह, २०७६, सुनुवार भाषाको “देष मपथु वोय” कविता संग्रह २०७८, “सम्झनाका फुलहरु” गजल संग्रह २०७८, सुनुवार भाषाको “सुया” कविता संग्रह २०७९ प्रकाशित भईसकेका छन् ।

सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष अमृत बहादुर सुनुवारको अध्यक्षता सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य उर्मिला सुनुवार, संविधान सभा सदस्य दालकुमारी सुनुवार, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राजन मुकारुङ, सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरद्विप सुनुवार, सुनुवार सेवा समाजका निवर्तमान अध्यक्ष रणबीर सुनुवार, पूर्व अध्यक्ष मान बहादुर सुनुवार, मन प्रसाद सुनुवार, संस्थापक सदस्य प्रेम बहादुर सुनुवार, बिमोचित गजल संग्रह एवम् स्मृती कोषका संस्थापक सदस्य तारादेवी सुनुवार लगायतले मन्तव्य राखेको थिए । कार्यक्रममा सुनुवार भाषाको कविताहरु पनी प्रस्तुत गरिएको थियो ।