मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो ।

 

यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । उनान्चालीस किलोमिटर लामो सो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गरिरहेको कार्कीले बताउनुभयो ।

पहिलो चरणमा मलेखुदेखि चितवनको चुम्लिङटारसम्म विस्तारको काम भइरहेको छ । शर्मा जेडआइसिजी जेभीका शिवप्रसाद लामिछानेले चैतदेखि उक्त यो सडकखण्डको काम तीव्रगतिमा गरिरहेको बताउनुभयो । उहाँले बर्खाको समयमा निर्माणको कामलाई जारी राखेको बताउनुभयो । “वर्षाले असर नगर्ने ठाउँमा काम भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिरो नजाने ठाउँमा भित्तो काट्ने काम भइरहेको छ ।”

 

सडक नभासिने ठाउँमा पर्खाल निर्माण भइरहेको छ । “निर्माण सुरु गरेदेखि काम रोकिएको छैन । बर्खामा त काम गरिरहेका छौँ । लक्ष्य अगावै निर्माणको काम सक्ने योजना छ ,उहाँले भन्नुभयो ।” उहाँले सडक निर्माणका क्रममा वन र विद्युत्को समस्या नआएर समयमै काम सम्पन्न हुने बताउनुभयो । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ ।

 

बजार क्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिनुभयो । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ । यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म छ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् ।

 

यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन् । आयोजनाको यो खण्ड रु चार अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् ।

“यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँ,’ आयोजना प्रमुख कार्कीले भन्नुभयो, “पहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना रहुन्छ ।” सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ ।

 

सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने दबाब छ । नागढुङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोगमा उक्त राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो ।