आत्मनिर्णयको अधिकार कार्यान्वयनका लागी कोइँच (सुनुवार) युवाको भुमिका बिषयक  एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । २९ औं बिश्व आदिबासी दिबसको अबसरमा सुनुवार सेवा समाज संघीय समितिले शुक्रबार शुभकामना आदानप्रदान सहित उक्त अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । 

बिश्व आदिबासी दिवसका लागी यो बर्षको अन्तराष्ट्रिय नारा “आत्मानिर्णयको अधिकारका लागी परिवर्तनका सम्बाहक युवा” तय गरिएको छ । नेपालको आदिबासी सुनुवार समुदायको आदिम थाकथलो भुमीमा बिभिन्न सरकारी तथा निजी कम्पनीहरुको आयोजना, परियोजनाहरुको काम भईरहेको तर त्यस क्षेत्रमा सुनुवार आदिबासी जातीले राष्ट्रिय, अन्तराष्ट्रिय कानुनहरुमा ब्याख्या गरे अनुसार आत्मानिर्णयको आधिकार कार्यान्वयन गर्न नपाएको जनगुनासो अत्याधिक मात्रामा आएपछी युवाहरुलाई लक्षीत गरि संस्थाले अनुशिक्षण कार्यक्रमको आयोजना गरेको समाजका महासचिव उत्तम कुमार सुनुवारले बताउनु भयो । 

कार्यक्रममा आत्मनिर्यणको अधिकार सँग सम्बन्धित बिभिन्न बिषयमा अधिवक्ता शंकर लिम्बु, नेपाल सरकारका उपसचिव अमरद्धिप सुनुवार, नेपाल आदिबासी जनजाति महासंघका निर्बतमान उपाध्यक्ष गोबिन्द छन्त्याल, युनेस्को नेपालका आदिबासी बिशेषज्ञ बर्षा लेखी, आदिबासी युवा अभियन्ता पेमा वाङमो लामाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बिभिन्न जिल्लाबाट सयौंको संख्यामा सुनुवार युवाहरुको सहभागिता रहेको थियो । 

अमृत बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल आदिबासी जनाजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, बागमती प्रदेश सभाका सांसद उर्मिला सुनुवार, संबिधान सभाका सभासद दालकुमारी सुनुवार, सुनुवार सेवा समाजका निवर्तमान अध्यक्ष रणबिर सुनुवार, पुर्वअध्यक्ष मन प्रसाद सुनुवार, संस्थापक कोषाध्यक्ष टिकाराम सुनुवार लगायत सुनुवार समुदायको बिभिन्न संघ संस्था अध्यक्ष, समुदायको प्रतिष्ठित ब्यक्तीहरुले मन्तब्यको क्रममा कार्यक्रम सफलताको शुभकामना सहित सुनुवार जातिको अधिकार र बर्तमान बस्तु स्थितीबारे चर्चा गरेका थिए । कार्यक्रम सुनुवार सेवा समाज संघीय समितिको सभाहल काठमाडौं कोटेश्वरमा आयोजना भएको थियो ।