ट्रेड युनियन कांग्रेस रामेछापले बिहीबार श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग राख्दै रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलामार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक दुई–दुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीको न्यूनतम पारिश्रमिक निर्धारण गरी साउनदेखि लागू गर्नुपर्नेमा सरकार र सम्बन्धित निकाय छलफलमा बस्दा कुनै निष्कर्ष निस्कन नसकेकाले श्रमजीवीको हक र अधिकारसँग सम्बन्धित निर्णय गर्न पनि युनियनले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

वर्तमान अवस्थाको आकाशिँदो महँगीमा सबै श्रमिकको वर्तमान न्यूनतम पारिश्रमिक अत्यन्तै न्यून भएको भन्दै साउन १ गतेदेखि नै लागू हुने गरी न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।