सिन्धुली। नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा १ बर्षको अबधिमा ६ हजार ८ सय ४ जनाले आँखा उपचार गराएका छन्। सन् २०२० मा ३ हजार १ सय ३४ जना पुरुष र ३ हजार ६ सय ७० जना महिला गरी ६ हजार ८ सय ४ जनाले आँखा उपचार गराएका हुन्। 

नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीका प्रमुख धन बहादुर मगरका अनुसार जिल्लामा मोतिबिन्दु भएका पुरुष ४८ जना र ५५ जना महिला गरि १ सय ३ जनाको अप्रेसन गरिएको छ। मोतिबिन्दु भएर दृष्टि कमजोर भएका १ सय ३ जनाको निशुल्क अप्रेसन गरिएको प्रमुख मगरले बताउनु भयो।

बाहिर गएर महङ्गो शुल्क तिरेर अप्रेसन गर्नुपर्ने समस्याबाट मुक्त हुन  पाएका आँखाका बिरामीहरू जिल्लामै निशुल्क अप्रेशन सेवा पाएर धेरै खुसी भएका छन्। कमलामाई नगरपालिका वडा नं ३ का निल माया सुनुुवारको आँखा मोतिबिन्दु भएपछि आँखा निकै कम देख्नु हुन्थ्यो। अहिले सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा अप्रेसन पश्चात आँखा देख्न थालेको भन्दै खुशी व्यक्त गर्नु हुन्छ।

टाढाको दुरी अथवा नजिक लेखपढ गर्न गाह्रो भएका आँखा बिरामीका लागि चश्मा १ हजार ६ सय ०३ जनालाई चश्मा बितरण गरिएको छ। त्यस्तै ५ हजार ८ सय २३ जनालाई आँखाको आवश्यक औषधी बितरण गरिएको प्रमुख मगरले बताउनु भयो।

त्यस्तै कृषि तथा विभिन्न कलकारखानामा काम गर्ने ४१ जना गम्भिर चोटपटक लागेर आपतकालिन अवस्थाका बिरामीहरूलाई बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गरी अन्धोपन हुनबाट बचाइएको पनि उहाँले बताउनु भयो।

साथै, नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीका प्रमुख मगरका अनुसार नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीलाई आँखा अप्रेशन केन्द्रको रुपमा विकास भइसकेकाले जिल्ला भित्रका आँखाका बिरामीहरू भन्दा बाहेक छिमेकी जिल्लाहरुबाट पनि उपचार गराउन आइरहेका छन्। उहाँले यो वर्ष कोरोनाको माहामारिले गर्दा आँखा शिविर, विद्यालय आँखा जाँच कार्यक्रमहरु तथा प्राथमिक आँखा उपचार सम्बन्धी तालिमहरू सन्चालन गर्न नसकिएको बताउनु भयो।