नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको साधारण सभा सुर्खेतमा हुने भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा केन्द्रीय साधारणसभा गर्ने महासंघको निर्णयलाई स्वागत गरेको छ । उक्त साधारण सभा सम्पन्न गर्न आठवटा उपसमिति गठन गरि शाखाले तयारी थालेको छ । 

महासंघका अध्यक्ष ललित बसेलको अध्यक्षतामा आज बसेको बैठकले साधारणसभा सफल बनाउन आवास तथा व्यवस्थापन, मञ्च व्यवस्थापन, अतिथि सत्कार, प्रचार, प्रकाशन, सांस्कृतिक, आर्थिक र पर्यटन उपसमिति गठन गरेको हो । अध्यक्ष बसेलका अनुसार समितिमा रहेका सात जना पदाधिकारीको संयोजकत्वमा उपसमितिहरू गठन गरिएका छन् ।

अध्यक्ष बसेलले कर्णालीमा हालसम्म कुनै पनि केन्द्रीयस्तरका कार्यक्रम हुन नसकिरहेको बेला महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुनु गौरवको विषय भएको बताउनुभयो । मुलुकको समग्र क्षेत्रको खबरदारी गर्ने महासंघको यस कार्यक्रमले यहाँको विकास र समृद्धिमा पनि सहयोग पुग्ने उहाँले जनाउनुभयो । कार्यक्रममा  देशविदेशका गरी करिब छ सय पत्रकार सहभागी हुने जनाइएको छ ।