काठमाडौं । नेपालमा नयाँ राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक समारोहबीच एनआरएनए आइसीसी अध्यक्ष डा.बद्री केसी र जाउँ गुरु प्रालिका अध्यक्ष इन्द्रहांङ लिङदेनले उक्त एपको संयुक्त रुपमा सार्वजनिक गर्नु भएको थियो ।

सर्वसाधारण नागरिकहरुको दैनिक यात्रालाई सहज बनाउन यस्तो एप सार्वजनिक गरिएको आयोजक टिमले जनाएको छ । जाउँ गुरु एपका प्रयोगकर्ताका लागि लोकेसन शेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्ती लगायतका अनलाइन पेमेन्ट सिस्टमको प्रयोग, २४ सै घण्टा कल सेन्टर सेवा लगायतका सुविधाहरु रहेका छन् ।

नेपालीको लागि नेपालमै बनाईएको एप भएकाले यस एप प्रयोगकर्ता र राईडरका लागि समेत एप प्रयोग गर्न सहज हुने जाउँ गुरु एपका संचालक खुशी लिम्बुले बताउनु भयो  । नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरुले मोटरसाईकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाउँ गुरुले भने त्यसका अलवा बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्याङ्कर र जीप सेवा उपलब्ध गराउने भएको छ ।

जाँउ गुरु एपमा बेलायत बस्दै आएका युवा व्यवसायी द्वय इन्द्रहाङ लिङदेन र खुशी लिम्बु साथै नेपालका आइटी व्यवसायी दिवाकर अर्यालको संयुक्त लगानी रहेको छ । एप सार्वजनिक कार्यक्रममा कलाकार दयाहाङ राई, नायिका करिश्मा मानन्धर, साहित्यकार उपेन्द्र सुब्बालगायत विभिन्न क्षेत्रका बिशिष्ट ब्यत्तिहरुको सहभागीता रहेको थियो ।