काठमान्डाैँ । चितवन, २८ जेठ (रासस) ः कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाउनुभएका जाजरकोटका भरतविक्रम शाही दङ्ग हुनुहुन्छ ।

नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उहाँ दङ्ग पर्नुभएको हो । सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोक्नुभएका शाही अहिले तन्दुरुस्त हुनुहुन्छ ।

पूर्ववत् आफ्ना काममा उहाँ जुट्दै आउनुभएको छ । पुनः परीक्षणका लागि यहाँको चितवन मेडिकल कलेज आउनुभएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिनुभयो । गत वर्षको असार १८ गते शाहीले यसै मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गर्नुभएको थियो ।

उहाँको कलेजो डा सञ्जयकुमार यादवको समूहले प्रत्यारोपण गरेको थियो । “कलेजोको सिरोसिस भएपछि पहिलेकै अवस्थामा फर्किन्छु भन्ने लागेकै थिएन”, शाहीले भन्नुभयो, “अहिले नयाँ जीवन पाएको अनुभव गरेको छु ।

” उहाँले स्वास्थ्य मात्रै राम्रो पाउनुभएको छैन, पूर्ववत् अवस्थामा नियमित काम गर्नसक्ने हुनु भएको छ । शाहीले भन्नुभयो, “मेरो पुनर्जन्म भएको छ । यो खालको जीवन पाउँला भन्ने सोचेको पनि थिइन् ।” कलेजो प्रत्यारोपण गर्दा लाग्ने रकम, आफन्तभित्रै कलेजो दाता खोज्नुपर्ने, रगतको समूह र अन्य कुरा मिल्नुपर्ने समस्या पार गर्दै आफ्नै श्रीमतीबाट कलेजो लिएर प्रत्यारोपण गर्नुभएका शाहीले अहिले फूर्तिलो मात्रै हुनुहुन्न, उहाँले गर्दै आउनुभएको शिक्षण पेसासँगै बिहान बेलुका श्रीमतीलाई व्यापारमा सघाउँदै आउनुभएको छ । जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले कलेजो प्रत्यारोपण गरेको छु भन्ने महुसस गर्न छाड्नुभएको छ ।

उहाँले भन्नुभयो, “अहिले मेरो स्वास्थ्य सोचेभन्दा धेरै राम्रो छ ।” पहिलेको जस्तै सक्रिय काम गर्ने बताउँदै उहाँले अगाडि थप्नुभयो, “म अहिले दिउँसो विद्यालयमा पढाउँछु, बिहान बेलुका घरमा व्यापार छ, श्रीमतीलाई व्यापारमा सघाउँछु ।

स्वास्थ्यका हिसाबले कुनै गारोसाह्रो परेको छैन ।” कलेजो रोग लाग्ने सुरुआती चरणमा खुट्टा, पेट फुल्ने, कहिलेकाहीँ ‘फेन्ट’ (चक्कर) हुँला जस्तो हुने, एकोहोरो हुने, आफ्नै दिमाग ठीक छ कि छैन जस्तो हुने लक्षण देखिएको अनुभव उहाँले सुनाउनुभयो ।

पेट फुलेर आफैँलाई लाज लाग्ने खालको भएको उहाँको भनाइ छ । उहाँको विसं २०७८ फागुनदेखि नै कलेजोमा समस्या देखिएको थियो । त्यसपछि भारतको लखनउ गएर तीन पटकसम्म परीक्षण गराउनुभएका शाहीले जाजरकोटबाट १५–१५ दिनमा लखनउ जानुपर्ने बाध्यता थियो । त्यहाँको चिकित्सकले ८० प्रतिशत कलेजो खराब भइसकेको र औषधि खायो भने निको हुन्छ भन्ने गरेको उहाँ स्मरण गर्नुहुन्छ ।

गत वर्ष लकडाउन भएपछि भारत जान नसकेपछि उहाँ नेपालगञ्जको मेडिकल कलेजमा परीक्षण गराउनुभयो । त्यहाँको चिकित्सकले कलेजो खराब भइसकेको र प्रत्यारोपण ग¥यो भने बाँच्न सकिने नत्र बाँच्ने सम्भावना कम भएको बताएपछि उहाँ काठमाण्डौं हुँदै चितवन आइपुग्नुभएको थियो । काठमाडौँको टिचिङ अस्पतालमा केही समयसम्म परीक्षण गराएर छिटो प्रत्यारोपणका लागि उहाँ चितवन मेडिकल कलेजमा आइपुग्नुभएको हो ।

“प्रत्यारोपण गर्नुपूर्व कतै श्रीमान् श्रीमती दुवै जना अप्ठ्यारोमा पर्छाै कि ? वा एक जनालाई कुनै अप्ठ्यारो हुन्छ वा जटिलता आउँछ कि ? भन्ने डर लागिरहेको थियो”, उहाँले भन्नुभयो, “अरुको भन्दा पनि मेरो केस जटिल थियो ।

चिकित्सकले ९० प्रतिशत सफल हुन्छ, १० प्रतिशत फेल पनि हुनसक्छ भन्नुभएको थियो ।” आफूले जसरी भए पनि प्रत्यारोपण गरिदिनुहोस् भनेर चिकित्सकलाई अनुरोध गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी दुवै जना खुसी जीवन बिताइरहेका छौं ।” उहाँको प्रत्यारोपणपछि गाउँपालिकाले पाँच लाख उपचार खर्च दिने नियम नै बनाएको छ ।

सोहीअनुसार आफूले पनि रु पाँच लाख सहयोग पाएको उहाँले जानकारी दिनुभयो । साथीभाई, इष्टमित्रको सहयोगबाट खर्च जुटाएर कलेजो प्रत्यारोपण गराएको उहाँले बताउनुभयो । आफूले पाएको नयाँ जीवन शैक्षिक गुणस्तर सुधारसँगै सामाजिक क्षेत्रमा बिताउने उहाँको योजना छ ।

कलेजो बिग्रिएकालाई समयमै प्रत्यारोपण गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “समयमै प्रत्यारोपण गरियो भने खर्च पनि कम हुन्छ । जीवन पनि सफल हुन्छ, बाच्न सकिन्छ । प्रत्यारोपण गर्न डर मान्यो भने खर्च उत्ति नै हुन्छ, परीक्षण गर्न गइरहनुपर्छ ।

औषधि खाइरहनु पर्छ ।” डा यादव कलेजो प्रत्यारोपण गरेर पुनः पहिलेकै जस्तो स्वस्थ हुन सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कलेजोको सिरोसिस भएर पेटमा पानी जमेको, जण्डिस भएको छ, मुखबाट रगत वान्ता भएको छ, बेहोस हुनुपर्ने अवस्था छ, रगतमा प्लेटलेसको सङ्ख्या कम छ र ७० देखि ८० प्रतिशत कलेजो ड्यामेज (खराब) भइसकेको छ भने त्यस्ता व्यक्तिको ६ महिनादेखि २ वर्षको आयु हुन्छ”, त्यस्ता व्यक्तिलाई कलेजो प्रत्यारोपण गरियो भने भरतविक्रम शाहीजस्तै सामान्य जीवनमा फर्किन सक्ने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “स्वास्थ्य मात्रै सामान्य होइन, कि आफ्नो काम र पेसामा नियमित जान सकिन्छ ।” कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हालसम्म छ जनाको कलेजो प्रत्यारोपण गरिएको बताउनुभयो । प्रत्यारोपणका लागि विदेश जानु नपर्ने भन्दै उहाँले विश्वका अन्य मुलुकमा भएका आधुनिक प्रविधि र उपकरणसहितको दक्ष चिकित्सक आफ्नो कलेजमा भएको दाबी गर्नुभयो ।