काठमान्डाैँ । आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ ।
यही ३० गते हुने निर्वाचनको लागि मतदान केन्द्रमा २७ गतेसम्म पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरुलाई धमाधम हस्तान्तरण गरिएको छ ।
जिल्लाको दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले धमाधम मतदानका लागि आवश्यक मतपत्र र मतपेटिकासहितका ६१ प्रकारका सामग्री बुझाएर केन्द्रमा खटाउन थालिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुलप्रसाद शर्माले जानकारी दिनुभयो ।
“जिल्लामा ४६० जना मतदान अधिकृत र सहायक अधिकृतहरुलाई सामग्रीसहित बुझाउन थालिएको छ, टाढाका केन्द्रका जाँदै गर्नुहुन्छ, नजिकका केन्द्रका २७ गतेसम्म पुग्नेछन्”, उहाँले भन्नुभयो, “मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई शनिबार नमूना मतदान गरेर पठाएका छौँ, अन्य कर्मचारी स्थानीय पालिकाका हुन्छन्, उतैबाट खटिन्छन् ।
” मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा मतदाता सङ्ख्याको आधारमा स्थानीय पालिकाका कर्मचारी र ६९० स्वयंसेवक गरी एक हजार ९०० कर्मचारी खटाइएको छ । मतदान केन्द्रमा एक हजार १५० कर्मचारी, १० निर्वाचन अधिकृतको कार्यालयमा ९० र ६९० स्वयंसेवक गरी एक हजार ९३० कर्मचारी परिचालन गरिएको छ ।
यस्तै २३० मतदान केन्द्रमा तीनजनाका दरले ६९० स्वयंसेवक स्थानीय खटाइनेछन् । यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार मतदान केन्द्रमा शनिबारदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उनीहरुलाई बन्दोबस्तीका सामग्रीसहित शनिबार बागलुङ बजारबाट केन्द्रतर्फ पठाइएको छ । “हामीले जिल्लाका १०३ मतदानस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वको समितिले स्थलगत अनुगमन गरिरहेका छौँ, हामीले मतदानस्थललाई अतिसंवेदशनशील, संवेदनशील र सामान्य गरी विभाजन गरेका छौँ”, उहाँले भन्नुभयो, “यही अनुसार फरक–फरक सुरक्षा योजना छ, त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरेका छौँ, आइतबारदेखि मतदानस्थलको सुरक्षा दिन थालिसकेको छ, विस्तारै २७ गतेसम्म पूर्ण सुरक्षा दिन्छौँ ।
” उहाँका अनुसार जनताले ढुक्क भएर मतदान गर्ने वातावरण तयार गरिएको छ । जिल्लामा ७०० नेपाल प्रहरी, ९८३ म्यादी प्रहरी, सशस्त्र प्रहरी ३३० र नेपाली सेना ५५० गरी दुई हजार ५६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनको पूरै सुरक्षा व्यवस्थाको जिम्मा भने नेपाल प्रहरीलाई छ । म्यादी प्रहरीको सहयोगमा प्रहरीले निर्वाचनमा सुरक्षा दिइने छ । मतदान केन्द्रमा म्यादीसहितको प्रहरी परिचालन गरिने छ भने बाहिरी घेरामा सशस्त्र प्रहरी खटाइनेछ । मतदानस्थल नजिकै नेपाल आर्मी परिचालन गरिने छ ।
मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख्या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ । १० पालिका रहेको जिल्लामा बागलुङमा एक लाख ९३ हजार २२६ मतदाता, २३० मतदान केन्द्र र १०३ मतदानस्थल रहेको छ ।
