काठमान्डाैँ । टीकापुर, २६ वैशाख (रासस)ः यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् ।

स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु प¥यो भनी छिमेकीले खबर गरेपछि आफ्नो सात जनाको परिवार स्वदेश फर्किएको जानकी गाउँपालिकाका विकास धामीले बताउनुभयो ।

‘‘आफ्नो मताधिकार प्रयोग गर्न भारतमा रहेका अन्य नेपाली पनि घर फर्केका छन्, हामी १५ दिनको बिदा मिलाएर आएका हौँ’’, विकासले भन्नुभयो, ‘‘निर्वाचनमा छिमेकी उठेका छन् । उनलाई मतदान गर्न आउनुप¥यो भनी बोलाए, अनि हामी आर्यौँ ।’’एक सातायता अन्य समयभन्दा बढी नेपाली स्वदेश फर्कन थालेका छन् ।

स्वदेश फर्कनेहरु मतदान गर्ने अधिकार प्रयोग गर्नाका साथै सक्षम नेतृत्व चयनका लागि फर्किएको बताउँछन् । कैलालीको जानकी गाउँपालिकाकी कमला न्यौपानेको दम्पति पनि स्थानीय तहको निर्वाचनमा मतदान गर्नकै लागि स्वदेश फकिएको छ । उहाँ मतदान गर्ने वित्तिकै भारत फर्कने बताउनुहुन्छ । ‘‘हामीले निर्वाचन हुँदैछ भन्ने कुरा समाचारमा थाहा पायौँ, आफन्तसँग पनि फोनमा कुराकानी भइरहन्थ्यो’’, न्यौपानेले भन्नुभयो, ‘‘एक पटक गल्ती भएमा पाँच वर्ष पालिकाको विकासमा असर पर्छ, त्यसैले सक्षम नेतृत्व छानौँ, र कर्तव्य पनि पालना गरौँ भनी आएका हौँ, मतदान गरेर उतै फर्कने हो ।

’’ मतदान गर्नु नागरिकको अधिकार भएकाले असल नेतृत्व छनोट गर्ने अधिकार सुनिश्चित गर्नाका लागि निर्वासनमा पुगेका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् । त्यही अधिकार प्रयोग गर्नाका लागि भारतको महाराष्ट्रबाट लम्की चुहा प्रतापपुरका सुरेश विकको ९ जनाको परिवार पनि स्वदेश फर्किएको छ । ‘‘हामी दाइभाइ र हाम्रा परिवार गरी नौ जना छौँ, नौ जनाले नै मतदान गर्न पाउँछौँ’’, उहाँले भन्नुभयो, ‘‘यसो आफन्तसँग भेटघाट पनि हुन्छ । निर्वाचनमा पनि सहभागी हुन्छौँ

।’’वैशाख महिनायता भारत फर्कने ४०० भन्दा बढीले सीमामा रहेको हेल्थ डेक्समा स्वास्थ्य जाँच गराएका छन् । एक सातायता सङ्ख्या अझै बढेको छ । नेपाल फर्कने अधिकांश व्यक्ति मतदान गर्नकै लागि आउने गरेको टीकापुर ९ स्थित सीमामा रहेको स्वास्थ्य सहायता कक्षमा कार्यरत स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताउनुभयो । ‘‘हिजोआज फर्कने अधिकांश मतदान गर्नकै लागि आएको भन्छन्, एक सातादेखि सङ्ख्या बढिरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘चालु आर्थिक वर्षको अहिलेसम्म चार हजार ६९८ जना भारतबाट फर्कनेले सेवा लिएका छन् ।

हेल्थ डेक्समा स्वास्थ्यमा समस्या भएकाहरुले सेवा लिन्छन् ।’’ निर्वाचनका लागि तायरी कैलाली जिल्लामा निर्वाचनका लागि सबै तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिई मतदान सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।

भोलि २७ गते जिल्लाका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत तथा कर्मचारी पुगिसक्ने, २८ र २९ गते मतदाता परिचयपत्र वितरण गरिने र ३० गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने गरी तयारी भइरहेको उहाँको भनाइ थियो ।

कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र तोकिएका छन् । ती केन्द्रमा निर्वाचन सञ्चालन गर्न एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयम्सेवक खटाउने तयारी भइरहेको पनि कार्यालय प्रमुख भट्टले बताउनुभयो । ‘‘स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन सबैलाई आग्रह गर्छु । आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि छान्न अनुरोध गर्दछु’’, उहाँले भन्नुभयो, ‘‘यो समय मतदाताले स्वविवेक प्रयोग गर्ने समय हो । ’’