काठमाण्डौं । निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्नै नसक्ने अवस्थामा पुगेको छ । 

पेट्रोलियम पदार्थ खरिदका लागि अब २५ करोड रुपैयाँ मात्र मौज्दात रहेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रूपमा बुझाउनुपर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयातमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताउनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थको मागअनुसार आईओसीलाई नियमित रूपमा बुझाउने रकममा १४ दिनपछि नै दुई अर्ब रुपैयाँ नपुग्ने देखिएको छ ।

१४ दिनपछि पेट्रोलियम पदार्थ आयातका लागि रकम दिन नसके अप्ठयारो अवस्था आउने निगमले अर्थ मन्त्रालयलाई जानकारी गराएको छ । गत चैत्र २२ मा अन्तिम पटक मूल्यवृद्धि गर्दा पनि गत महिना नौ अर्ब २७ करोड घाटा ब्योहोर्नु परेको निगमले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा हालसम्म निगम ३३ अर्ब रूपैयाँ घाटामा रहेको छ ।००००