काठमाण्डौ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दवाव दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो । हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो ।
आगामी आइतबार रुटअनुसार बढेको भाडाको सूची सार्वजनिक गरिनेछ । सूची सार्वजनिक भएपछि मात्रै भाडादर लागू हुनेछ । स्थानीयस्तरमा चल्ने लोकल सवारीसाधनको भाडा भने नबढ्ने विभागले प्रष्ट पारेको छ । अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ । असार यता डिजेलको मूल्य ३४ प्रतिशत बढेको आधारमा हाल नयाँ भाडादर तय भएको विभागले जनाएको छ ।००००

