काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिन र सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गर्न सरकारलाई सुझाव दिएको छ ।
रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढीरहेको र भुक्तानी गर्न नसक्ने अवस्था आएको उल्लेख गर्दै निगमले सातामा दुई दिन सार्वजनिक बिदा दिएर तेलको खपत घटाउन सरकारसँग माग गरेको हो । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर गइरहेको र प्राप्त मूल्यसूचि अनुसार निगमलाई पेट्रोलमा मात्रै दैनिक ३१ करोड रुपैयाँ घाटा भइरहेको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको खपतलाई कम गर्न निगमले गत चैत्र १३ गते १० बुँदे सुझाव दिएको पनि बताउनुभयो ।
निगमले पेट्रोलियम पदार्थको भन्सार शुल्क प्रतिलिटर १५ रुपैयाँ घटाइदिन पनि आग्रह गरेको छ । हाल नेपाल आयल निगमसँग ६८ हजार किलो लिटर भण्डारण क्षमता छ भने लगभग ८० प्रतिशत भण्डारण छ । प्रवक्ता उपाध्यायले आयात ठप्प भएको खण्डमा निगमसँग भएको भण्डारण क्षमताले पेट्रोल ५ दिन र डिजेल ८ दिनसम्मलाई पुग्ने बताउनु भयो ।००००

